पर्यटकको पर्खाइमा होटल व्यवसायी

  असार १४, २०७९

खलङ्गा, असार १४ : आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये मुगुस्थित राराताल पनि एक हो । रारा ताल पुगेर जुम्ला सदरमुकाम खलङ्गा आउने आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा यहाँका व्यवसायी रहेका छन् । यो मौसममा पर्यटक नआउँदा यहाँका होटल व्यवसाय सङ्कटमा परेको छ ।

कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्यवसायीले होटलमा लगानीसमेत बढाएका थिए । तर, अहिले अधिकांश होटल रित्तै बनेका छन् । त्यसो त हिउँदका तीन महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले उक्त सिजनमा पर्यटकहरू नै आउँदैनन् ।

क्षेत्रीय होटल सङ्घ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटल अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताउनुभयो । उहाँका अनुसार अहिले ठूला लगानीका होटलमा पाँचवटा कोठा भरिन पनि मुस्किल छ । उहाँले भन्नुभयो, “कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुन्छ ।” उहाँका अनुसार जुम्लामा रु ५० लाखदेखि दुई करोडसम्म लगानी गरेका होटल मात्रै झण्डै १५ वटा छन् । अहिले ठूला लगानीका होटलमा १० देखि २० जनासम्म पाहुनामात्र आउने गरेको उहाँले बताउनुभयो ।

ती होटलहरूमा दैनिक ५० जनासम्म पाहुना राख्न सकिने सुविधा छ । होटल दौंतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको जानकारी दिनुभयो । उहाँको होटलमा १६ कोठा छन् । तर दैनिक आठ कोठा भरिन मुस्किल हुन्छ । कोरोना महामारी अघिसम्म पर्यटकलाई कहाँ राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे । “अहिले त व्यवसायीले नै पाहुना खोज्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

साउनदेखि भने पर्यटक बढ्ने आशा रहेको सङ्घका अध्यक्ष महतले बताउनुभयो । उहाँका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त मौसम हो । पर्यटकको सङ्ख्या बढ्दै गएपछि साना होटलले लगानी बढाए भने कुनै समय पर्यटकीय होटल बनाउने होडबाजी नै चल्यो । उहाँले भन्नुभयो, “जब कोरोना महामारी सुरु भयो, त्यसबेलादेखि ओरालो लागेको व्यवसायले अझै पनि गति लिन सकेको छैन”,

सङ्घको तथ्याङ्कानुसार कोरोना महामारीअघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए । जुम्लामा होटल व्यवसायमा झण्डै रु दुई अर्ब लगानी भएको सङ्घको अनुमान छ । सङ्घका अनुसार यो व्यवसायबाट कम्तीमा ३०० ले रोजगारी पाएका छन् ।

तपाईको प्रतिक्रिया