‘गण्डकी प्रदेशको समृद्धिमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण’

  असार ११, २०७९

कास्की, असार ११ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना साकार पार्नका लागि निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताउनुभएको छ ।

‘समृद्ध गण्डकी प्रदेशः सम्भावना र चुनौती’ विषयमा आर्थिक मिडिया र बेदव्यास क्रिएशनले आज पोखरामा आयोजना गरेकोे ‘गण्डकी आर्थिक बहस–२०७९’ मा उहाँले समृद्धिका लागि सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समृद्ध गण्डकी प्रदेश बनाउने सरकारको सपनामा निजी क्षेत्रको सहयोग मुख्य रहन्छ, सरकार निजी क्षेत्रलाई सहयोग गर्न सधैँ प्रतिबद्ध छ, देशको अर्थतन्त्रको ८० प्रतिशत निजी क्षेत्रमा आधारित रहेकाले यो क्षेत्र जबसम्म जुर्मुराउँदैन तबसम्म सरकार अगाडि बढ्न सक्दैन ।”

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले निजी क्षेत्रको सक्रिय सङ्लग्नताबिना विकास सम्भव नभएको बताउनुभयो । प्रदेश सरकारले बनाएका नीति, नियम तथा कानुन आर्थिक गतिविधिलाई चलायमान बनाउन र निजी क्षेत्रको प्रवद्र्धनका लागि रहेको उहाँको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान) गण्डकीका अध्यक्ष जगत पोखरेलले जलविद्युत् क्षेत्रको विकासबाट गण्डकी प्रदेशको समृद्धि सम्भव रहेको बताउनुभयो । उहाँले यहाँका नदीनालाबाट विद्युत् उत्पादन गरी ऊर्जाको बिक्री वितरणबाट प्रदेश र प्रदेशवासीलाई धनी बनाउन सकिने उल्लेख गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले अनावश्यक राजनीतिक हस्तक्षेपले पर्यटन क्षेत्रमा असर पारेको बताउनुभयो । उहाँले व्यक्तिको क्षमताका आधारमा नभई राजनीतिक पार्टी हेरेर व्यक्तिलाई माथि पु¥याउने परिपाटीले समस्या उत्पन्न भएको जिकिर गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले लगानीमैत्री वातावरण बनाउने दायित्व सरकारको भए पनि त्यो हुन नसकेको बताउनुभयो । उहाँले पोखरा महानगरपालिका र प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन गर्न कठिनाइ भएको पनि उल्लेख गर्नुभयो ।

आयोजक संस्था आर्थिक मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र पौडेलले प्रदेशको समृद्धिका लागि सरकारी, निजी क्षेत्र तथा सरोकारवालाको सहभागितामा बहसमूलक कार्यक्रममार्फत सम्भावना र चुनौती पहिल्याउनका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया