दुध बेचेरै दैनिक ७५ हजार रुपैयाँ आम्दानी

  असार ०८, २०७९

सिद्धार्थनगर, असार ८ : रुपन्देहीको तिलोत्तमामा बासु भुसाल व्यवसायीक पशुपालन गरेर उदाहरणीय बन्नुभएको छ । पेशाले पूर्णकालिन ईलेक्ट्रीकल ईन्जीयर रहनुभएका भुसालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी पनि गर्नुभएको छ ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग स्थायी घर भई अहिले बुटवलमा बस्दै आउनुभएका युवा व्यवसायी भुसालले गाई र भैसी पालेरै दैनिक ७५ हजार भन्दाबढी रुपियाँको दुध विक्री गरेको बताउनुभयो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर–१० कान्छी बजारमा कामधेनु क्याटल ब्रिडीङ एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गर्नुभएको उहाँको फार्ममा अहिले साना ठूला गरेर गरेर १ सय ५ गाई र भैसी छन् । तीन बर्षअघि स्थापना गरेको उहाँको फार्ममा रहेको उन्नत (होलिस्टीन) जातको एउटै गाईले दैनिक ६५ लिटरसम्म दुध दिदै आएको छ ।

फार्ममा आठ जना कामदारलाई प्रत्यक्ष रुपमा रोजगार दिनुभएका उहाँले दैनिक ११ सय लिटर दुध उत्पादन गरी विक्रि गर्दै आउनुभएको छ । उहाँले आफ्नो फार्मको दुध हाल पवन मिष्ठान्न भण्डार भैरहवा, बुटवलको पवित्रा डेरी र अन्य स्थानीय डेरीहरुले  खपत गर्दै आएको बताउनुभयो ।

पाँच विघा क्षेत्रफल जग्गामा उहाँले दुई विघामा फार्म निर्माण गर्नुभएको छ । तीन विघामा घाँस खेती समेत गरिरहनुभएको छ । गाईलाई दाना र साईलेज बढि मात्रामा प्रदान गर्दै आएकोमा भैसीलाई भने घाँस खेतीमा आधारित रहेर पालन गरेको उहाँको भनाइ छ ।

‘युवाले स्वदेशमै केही काम गर्नुपर्छ भन्ने सोचका साथ म पशुपालन क्षेत्रमा लागें मिहेनत गरे पैसाको हिसाबै हुन्न । हालसम्म र्फाममा ४० लाख भन्दा बढी लगानी गरिसकेको छु । महिनामा १५ लाखभन्दा बढि आम्दानी हुन्छ । खर्च कटाएर पनि आधा रकम बच्छ,’ उहाँले भन्नुभयो ।

एउटै गाइले ६५ लिटरसम्म दुध दिने गरेको र ६५ रुपियाँ प्रतिलिटर बेच्ने गरेको पनि उहाँले बताउनुभयो । उपभोत्ताले भने बजारमा प्रतिलिटर ९० रुपियाँ तिर्ने गरेका छन् ।

दुई सय गाइ पाल्ने योजना 

भुसालले निकट भविश्यमा गाईको संख्या बढाएर दुई सय पुर्‍याउने र फार्मलाई रिसर्च सेन्टरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । फार्म खोल्ने तयारी गरेकाहरुले पनि कामधेनु मै पुगेर सोधपुछ गर्ने उहाँले बताउनुभयो ।

सुपादेउराली डिललिङ्ग एण्ड कन्सट्रक्सन प्रालि र राजश्री डिलिङ्ग एण्ड कन्ट्रक्सन सप्लायर्स प्रालि समेत सञ्चालन गर्दे आउनुभएका उहाँले करिव १४ बर्ष विभिन्न उद्योगमा ईलेक्ट्रीकल ईन्जीनियरको काम गर्नुभयो ।

रुपन्देहीमा रहेको पञ्चकन्या ग्रुप प्रालि सहित अन्य विभिन्न कम्पनीमा काम गर्नुभएका भुसाल आफ्नै जमिन मुनीको पानी निकाल्ने प्राविधि ड्रिलिङ्गको काम सुरुवात गरेको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया