जनताले बुझ्ने भाषामा साहित्य सृजना गर्ने श्यामप्रसाद शर्माको सम्झना

  असार ०६, २०७९

काठमाडौँ, असार ६ : साहित्यकार श्यामप्रसाद शर्माले भाषा, संस्कृति, निबन्ध, समालोचनाजस्ता साहित्यिक विधामा जनताले बुझ्ने सरल भाषामा लेख्नुभएका कृतिको महत्व अहिले पनि रहेको बताइएको छ ।

शर्माको ९४औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्यामप्रसाद शर्माको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक विचार गोष्ठीमा शर्माका साहित्यमा प्रगतिशील चेतना रहेको जानकारी दिइयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शर्माकै नेतृत्वमा प्रगतिशील लेखक सङ्घको स्थापना भएको उल्लेख गर्नुहुँदै सांस्कृतिक विषयमा महत्वपूर्ण कृतिको रचना उहाँले गर्नुभएको सुनाउनुभयो ।

शर्माका साहित्यिक सृजना छोटा भए पनि महत्वपूर्ण रहेको कुलपति उप्रेतीले बताउनुभयो । देशलाई अग्रगमनमा लैजान महत्वपूर्ण योगदान गर्नुभएका साहित्यकार शर्माको सम्झनामा पहिलोपटक जन्मजयन्ती मनाइएको प्रतिष्ठानले जनाएको छ । शर्मा प्रगतिशील लेखक सङ्घको अध्यक्ष हुँदा उहाँलाई निजीस्तरबाट दिइएको मुक्ति पुरस्कार लिने कि नलिने भनी कार्य समितिमै छलफल गर्न प्रस्ताव गर्नुभएको कुलपति उप्रेतीले सम्झनुभयो । कार्यसमितिले संस्थागत निर्णय नगरेपछि उहाँले पुरस्कार ग्रहण गर्नुभएको थियो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले नेपालको लोकतान्त्रिक वामपन्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका शर्माले साहित्यमा पनि १०० भन्दा बढी जनताको मन मस्तिष्क रहने कृति रचना गर्नुभएको जानकारी गराउनुभयो । शर्माको समालोचना र स्मृति ग्रन्थ प्रकाशनको आवश्यकता अझै रहेको उहाँको भनाइ थियो ।

शर्मामा भएको राजनीतिक चेतनाकै कारण उहाँले तीनपटक जेल जीवन बिताउनुभएको थियो । शर्मा चिन्तनसँगै चरित्रमा पनि जोड दिने साहित्यकार हुनुहुन्थ्यो । उहाँको तँ, तिमी र तपाईं निबन्ध सामन्ती सोच राख्नेका लागि शिक्षामूलक रचनाका रूपमा लिइन्छ । कार्यक्रममा सदस्य सचिव उपाध्यायले शर्माले उमेर भएको छैन भनी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गर्नु अहिलेका राजनीतिक व्यक्तित्वका लागि शिक्षामूलक रहेको बताउनुभयो । साहित्यकार शर्माका विषयमा प्रतिष्ठानका पूर्वसदस्य डा अमर गिरीले नेपाली समाजका विभिन्न विषयलाई समेटी शर्माले साहित्य सृजना गर्नुभएको उल्लेख गर्दै सरल भएकाले जनताले तत्काल बुझ्ने गरेको बताउनुभयो ।

शर्माको संस्कृतिसम्बन्धी दुई चार कुरा पुस्तक हाम्रा लागि पनि महत्वपूर्ण भएको उहाँले सुनाउनुभयो । नेपाल सांस्कृतिक विविधता भएको देश एकताको सूत्रमा गाँस्नुपर्छ भन्ने भावना उक्त पुस्तकमा उल्लेख गरिएको जनाइएको छ । शर्माले विभिन्न जातका बीचमा एकतालाई पनि कृतिमा जोड दिनुभएको छ । कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा मधुसूदन गिरी, साहित्यकार शर्माकी जेठी छोरी सम्झना शर्मा, बाल साहित्यकार शान्तदास मानन्धर, कार्यक्रम संयोजक डा गोपिन्द्र पौडेललगायतले उहाँले साहित्य एवं नेपालको वामपन्थी राजनीतिमा पु¥याउनुभएको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया