बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कँडेल

  असार ०४, २०७९

गलकोट, असार ४ : बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार सङ्घको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको बताउनुभयो । सङ्घको नयाँ नेतृत्वका लागि आजै मतदान हुँदै थियो । मतदानअघि नै प्रतिस्पर्धी निर्माणकुमार श्रेष्ठलाई हटाएर कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । दुवै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । पार्टीले सर्वसम्मत कँडेललाई बनाउन समन्वय गरेपछि निर्माणकुमार श्रेष्ठ पछाडि हट्नुभएको हो ।

बागलुङ उद्योग वाणिज्य सङ्घको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष कँडेलले बताउनुभयो । उहाँले सबैलाई समेटेर उद्योगी व्यवसायीको हितमा लाग्ने बताउनुभयो । कँडेल पूर्वउपाध्यक्ष र निर्वतमान महासचिवसमेत हुनुहुन्थ्यो । सङ्घको उद्योग सदस्यतर्फ निलेश राजभण्डारी र ऋषिराम गौतम पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घकोे खुलातर्फको १४ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेको थियो । खुला सदस्यमा उम्मेदवारी दिनुभएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएको थियो ।

खुला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणि पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहनुभएको छ । मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिने छन् ।

जिल्ला भलिबल सङ्घ बागलुङको अध्यक्षमा भण्डारी

जिल्ला भलिबल सङ्घ बागलुङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट योगेश भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेसनमा भण्डारीको नेतृत्वमा जिल्ला सङ्घको कार्यसमिति पनि निर्विरोध चयन भएको हो ।

सङ्घको प्रथम उपाध्यक्षमा गोरख भण्डारी र उपाध्यक्षमा किशोर थापा चयन हुनुभएको छ । महासचिवमा सन्दीप पन्त र कोषाध्यक्षमा प्रकाश थापा चयन हुनुभएको हो । निर्वतमान अध्यक्ष यामबहादुर श्रीषले दिनुभएको जानकारीअनुसार सदस्यमा लुकु श्रीष, हिमाली रोका, नीरकुमार घर्ती, लीलकुमार छन्त्याल, दिलीप थापा, तेजिन्द्र क्षेत्री, देवबहादुर श्रीष र अमृता जिसी रहनुभएको छ । निर्वाचित कार्यसमितिले मनोनित गरेर कृष्ण शेरचन, दोर्ण कार्की, सरोजकुमार घर्ती, मनबहादुर पुन र राजमान बुढालाई पनि सदस्यमा चयन गरेको छ ।

तपाईको प्रतिक्रिया