नालापानी कात्तिक ४ गते प्रदर्शन

  असार ०४, २०७९

काठमाडौँ, असार ४ : चलचित्र ‘नालापानी’को प्रदर्शन मिति तोकिएको छ । चलचित्र तिहारको अवसर पारेर कात्तिक ४ गते प्रदर्शनमा आउने भएको छ । प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा.डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक–पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको जनाइएको छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस प्रालि, गङ्गा नारायण फिल्म प्रोडक्सन प्रालि र बिजी बी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण ‘नालापानी’मा भीएफएक्स अच्युत गजुरेल, छायाङ्कन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, सङ्गीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतीले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्यको स्वर रहेको छ । ‘नालापानी’का एसोसिएट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुनुहुन्छ ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सरिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजङ्ग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया