श्रमिक इजरायल पठाउन वैकल्पिक उपाय खोजी

  असार ०४, २०७९

काठमाडौँ, असार ४ : दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका नेपाली श्रमिकलाई इजरायल पठाउन आवश्यक प्रक्रिया भइरहेको जनाएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार विज्ञप्तिमार्फत छनोट भएका ८७८ जना श्रमिकलाई छिटोभन्दा छिटो इजरायल पठाउन प्रयास भइरहेको जनाएको हो ।

विभागले विज्ञप्तिमार्फत भनेको छ, ‘लामो समयसम्म पठाउन नसकिएपछि वैकल्पिक उपायको खोजी गरी यथाशीघ्र पठाउने प्रक्रिया सुरु गर्न प्रयास जारी रहेको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट समेत आवश्यक पहल भइरहेको भन्दै विभागका निर्देशक डम्बर सुुनुुवारले इजरायलको जनसङ्ख्या तथा अध्यागमन ब्युरो एवं अन्य सरोकारवाला निकायको समेत उपस्थितिमा यथाशक्य चाँडो श्रमिक लैजाने प्रक्रिया सुरु गर्न प्रयास गर्ने जानकारी दिनुुभयो ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा छनोट भएका एक हजार १७५ जना श्रमिकमध्ये करार सम्झौता सम्पन्न भई २९७ जना इजरायल गइसकेका छन् तर बाँकीको भने इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध कर्मचारीको श्रम विवादका कारण भिसा जारी भएको छैन । त्यहाँका कर्मचारीको श्रम विवाद समाधान भएलगत्तै भिसा तथा सम्झौतापत्र जारी गर्ने भनिए पनि लामो समयसम्म प्रक्रिया सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया