जिसस मकवानपुरको प्रमुखमा घलान विजयी

  असार ०२, २०७९

मकवानपुर, असार २ : जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का ललितकुमार घलान विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा घलान १७ मतसहित जिसस प्रमुख पदमा विजयी हुनुभएको हो । उहाँले सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।

त्यस्तै उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)बाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ तीन मतसहित पराजित हुनुभएको छ । यस्तै जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा क्रमशः तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित हुनुभएको हो । उहाँहरु तीनै जना नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो । एमालेबाट उम्मेदवार बनेका बीनाकुमारी थिङ लामालाई तीन मत प्राप्त भएको छ ।

यस्तै खुला सदस्यतर्फ खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका पुलामी र गोपालीलाई १७ मत प्राप्त भएको छ भने नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बन्नुभएका लामालाई १६ मत प्राप्त भएको छ । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनालाई भने तीन मत प्राप्त भएको थियो ।जिससको उपप्रमुख पदमा कांग्रेसका सानुकाजी लुइँटेल र दलित तथा अल्पसङ्ख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार निर्विरोध निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया