पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि

  असार ०२, २०७९

इस्लामावाद, असार २ : पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् । देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गर्नुभएको हो ।

विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उहाँको भनाई छ । उहाँले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाउनुभयो । गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत बृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैया पुगेको छ ।

तपाईको प्रतिक्रिया