कक्षा ३ सम्म पढाउने विद्यालयमा मात्र एक जना विद्यार्थी

  असार ०१, २०७९

काठमाडौं, १ असार : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा अवस्थित कक्षा ३ सम्म पढाइ हुने दुर्गा आधारभूत विद्यालयमा एक जना मात्रै विद्यार्थी छन् । उनी हुन् अढाइ वर्षीय सिमरन सोमै । चालु शैक्षिक सत्रमा उनीसँगै अरु दुई जना आएका थिए । तर, दुई जनालाई अभिभावकले निजी विद्यालय लगेपछि सिमरन एक्लै विद्यालय आइरहेका छन् । कक्षा १ देखि ३ सम्म कुनै विद्यार्थी छैनन् ।

विद्यालयको स्थापना २०४५ सालमा भएको प्रधानाध्यापक हरिबहादुर खड्का बताउँछन् । ५५ जना विद्यार्थी भर्ना गरेर २०४५ सालमा एकसम्म खुलेको विद्यालय हरेक वर्ष कक्षा थप गर्दै ४ कक्षासम्म पुर्‍याइएको थियो । तर शिक्षक दरबन्दी कम भएकाले ४ कक्षा सञ्चालन गरेको चार वर्षपछि आन्तरिक स्रोतबाट निरन्तरता दिन सकिएन । त्यसपछि ३ सम्म मात्रै कायम गरेर पढाउन थालिएको प्रधानाध्यापक खड्काले जानकारी दिए । विद्यालयमा केही वर्षअघिसम्म करिब दुई सय जनासम्म विद्यार्थी पुगेका थिए । तर, अभिभावकमा देखिएको अंग्रेजी मोहले बालबालिका अंग्रेजी माध्यमका विद्यालयतिर लैजान थाले । त्यसपछि दुर्गा आधारभूत विद्यालयमा विद्यार्थी घट्दै गएका हुन् ।

गत वर्ष वैशाखमा नगरपालिकाले विद्यालय नजिकै रहेको बरामिका आधारभूत विद्यालयमा समायोजन भएर दुर्गा आधारभुत खारेज भएको सूचना निकाल्यो । गत वर्ष २१ जना बालबालिका थिए । विद्यालय अर्को विद्यालयमा समायोजन भएको र खारेज भएको सुनेपछि अभिभावकले भएका बालबालिका पनि अन्तै लगे ।

 

तपाईको प्रतिक्रिया