कञ्चनपुरका नौवटै पालिकामा योजना छनोट गरिँदै

  जेठ ३०, २०७९

महेन्द्रनगर, जेठ ३० : कञ्चनपुरका नौवटै स्थानीय तह यतिबेला आगामी आर्थिक वर्षका लागि बस्तीसम्म पुगेर योजना छनोट गरिरहेका छन् । आव २०७९-८० को बजेट निर्माणको तयारी भइरहेका बेला स्थानीय तह यहाँका ९२ वटै वडामा योजना छनोटमा जुटेका छन् ।

कतिपय पालिकाका वडामा भने धमाधम भेला अयोजना गरी योजना छनोट गरिँदै छन् । आगामी असार १० गतेभित्र पालिकाले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । वडाका जनप्रतिनिधी अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी सुझाव सङ्कलन गरिरहेका छन् ।

भीमदत्त नगरपालिका–४ का अध्यक्ष शुशील भट्टले अहिले वडामा टोल भेलाबाट योजना छनोट भइरहेको बताउनुभयो । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसमेत रहेको वडा नं ४ मा स्थानीयको मागलाई सम्बोधन हुने गरी योजना छनोटलाई प्राथमिकता दिइएको वडाध्यक्ष भट्टको भनाइ छ । “वडावासीले बजारमा सरसफाई, ढल निकास र विद्युत्को समस्या समाधान गर्नुपर्ने माग अघि सारेका छन्”, उहाँले भन्नुभयो–“शिशु कक्षा व्यवस्थित बनाउने गरी बजेट ल्याउने तयारीमा छौँ ।”

यसैगरी दोधारा–चादनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बुले वडा–वडामा टोल भेलाबाट योजना छनोट भइरहेको बताउनुभयो । बस्ती भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याउने उहाँको भनाइ छ । भीमदत्त नगरपालिकाका–६ का अध्यक्ष महेन्द्र खड्का वडामा थुप्रै समस्या रहेकाले वडावासीका सम्पूर्ण समस्या समाधान हुनेगरी योजना बनाइरहेको बताउनुहुन्छ । भीमदत्त नगरपालिकाको प्रवक्ता समेत रहनुभएका खड्काले ढल निकास नहुँदा बर्षात्मा बस्ती डुबानमा पर्ने प्रमुख समस्या रहेको बताउनुभयो ।

“भेलामा वडावासीले सीपमुलक तालीम, ग्राभेल, सडक निर्माण, ढल निकास जस्ता माग अघि सारेका छन”, उहाँले भन्नुभयो–“सबै माग एकैपटक पुरा नभए पनि देखिनेगरी काम गछौँँ ।”

यस्तै शुक्लफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले वडा स्तरमा योजना छनोट भइरहेको बताउनुभयो । “वडा कार्यालयले पठाएका योजनामा नगरपालिकामा विषयगत छलफल हुन्छ र प्राथमिकताका आधारमा बजेट विनियोजन हुन्छ”, उहाँले भन्नुभयो– “शिक्षा, स्वास्थ्य, पर्यटन र सडक निर्माणलाई प्राथमिकतामा राखेका छौँ ।”

स्थानीय सरकार गठनपछि विभिन्न चरणमा योजना छनोट गरिन्छन् । वैशाखभित्र सङ्घ तथा प्रदेशबाट वित्तिय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धि मार्गदर्शन प्राप्त गर्ने र दोस्रो चरणमा वैशाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने गरिन्छ । बेदकोट नगरपालिकाकी उपप्रमुख तुलसी जोशी वडाबाट आएका योजना विभिन्न समितिमा बसेर प्राथमिकताका हिसाबले अघि बढाइने बताउनुहुन्छ । “नगरलाई समृद्ध बनाउने योजनाका साथ पालिका अघि बढ्छ”, उहाँले भन्नुभयो । असार १५ गते गाउँ नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गरी सभामा पेश गर्ने र असार ३० गतेभित्र गाउँ नगर सभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया