‘दुई बेलायती र एक मोरोक्कनलाई मृत्युदण्ड दिने निर्णय परिवर्तन नहुने’

  जेठ २९, २०७९

मारिउपोल, यूक्रेन, जेठ २९ :  पूर्वी यूक्रेनमा रहेका रूस समर्थक समूहका नेताले आइतबार यूक्रेनी सेनालाई सहयोग गर्न पुगेका दुई जना बेलायती र मोरोक्कोका एक व्यक्तिलाई दिइने भनिएको मृत्युदण्डको सजायमा कुनै फेरबदल नहुने बताएका छन् ।

“तिनीहरू पैसाको लागि सर्वसाधारणलाई मार्न यूक्रेन आए । त्यसैले सजायको कुनै पनि कमी वा परिमार्जनका लागि म कुनै सर्त देख्दिनँ,” उनीहरूलाई मुद्दा लगाउने पृथकतावादी डोनेट्स्क क्षेत्रका नेता डेनिस पुशिलिनले सञ्चारकर्मीसँग बताउनुभयो ।

पुशिलिनले भन्नुभयो, “अदालतले तीन जना लडाकूलाई ‘पूर्ण न्यायोचित सजाय’ को घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई उनीहरूको भाग्यलाई बेवास्ता गरेको र पृथकतावादी अधिकारीहरुसँग सम्पर्क गर्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो ।

मे महिनामा रूसी र पृथकवादी फौजद्वारा कब्जा गरिएको युद्धग्रस्त यूक्रेनी शहरमा रूसी रक्षा मन्त्रालयद्वारा आयोजित यात्राको भागको रुपमा टुक्रने क्षेत्रको राजधानी मारिउपोलमा पुगेका एएफपी सम्वाददाताले सजायबारे फेरबदल नगर्ने यूक्रेनी पृथकतावादी नेताको धारणा रहेको पुष्टि गरेका हुन् ।

शनिबार बेलायती प्रधानमन्त्री जोन्सनका प्रवक्ताले बेलायतीहरू एडेन अस्लिन र शाउन पिनर र मोरोक्को ब्राहिम साडुनलाई सुनाइएको मृत्युदण्डको फैसलाले आफूलाई ‘आश्चर्य’ मा पारेको बताउनुभएको थियो ।

प्रवक्ताले भन्नुभयो, “यो कुरा स्पष्ट छ कि तिनीहरू यूक्रेनी सशस्त्र फौजका सदस्यहरू थिए र त्यसकारण तिनीहरू युद्धका कैदी हुन् । डोनेट्स्कका पृथकवादी अधिकारीहरूले उनीहरूलाई आरोप लगाए झै उनीहरू पैसाका लागि त्यहाँ गएका होइनन् ।”

अस्लिन र पीनरका परिवारका अनुसार यी दुई पुरुष सन् २०१८ देखि यस यूक्रेनमा बसोबास गर्दै आएका हुन् ।

शुक्रबार संयुक्त राष्ट्रसंघले रूसी समर्थक विद्रोहीहरूले कैदीहरूविरुद्ध मृत्युदण्ड सुनाएकोमा चिन्ता व्यक्त गरको थियो ।

तपाईको प्रतिक्रिया