एक्सरे सेवा सञ्चालनपछि सहज

  जेठ २७, २०७९

बैतडी, २७ जेठ : बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । उपकरणमा आएको समस्या र आवश्यक सामग्रीको अभावमा एक्सरे सेवा सात महिनादेखि बन्द रहेको थियो ।

बिग्रिएका उपकरण मर्मतसँगै आवश्यक सामग्री व्यवस्थापनपछि बन्द रहेको एक्सरे सेवा पुनः सञ्चालनमा आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिनुभयो । मेलौली नगरपालिकाका नवनिर्वाचित प्रमुख भीमबहादुर चन्द ९भूकम्प० को पहलमा एक्सरेका लागि आवश्यक सामग्रीको व्यवस्थापन भएपछि एक्सरे सेवा सञ्चालनमा भएको हो । मेलौलीमै एक्सरे सेवा सञ्चालन भएपछि चोटपटक लागेका तथा अन्य बिरामीहरुका लागि सजिलो भएको छ । एक्सरेकै लागि जिल्ला अस्पताल बैतडी तथा डडेल्धुरा अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

स्थानीयस्तरमै एक्सरे सेवा सञ्चालन भएपछि नागरिकलाई सजिलो भएका स्थानीय मङ्गेश दयालले बताउनुभयो । उहाँले भन्नुभयो, “एक्सरे सेवा लिनकै लागि बाहिर जानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ ।” केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रमको पनि सूचीकृत स्वास्थ्य संस्था भएकाले बीमा गरेका बिरामीलाई सजिलो भएको छ । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रूपमा रहेको छ ।
–––

तपाईको प्रतिक्रिया