सञ्चारमैत्री बन्ने रुपन्देहीका जनप्रतिनिधिको प्रतिबद्धता

  जेठ २४, २०७९

रुपन्देही, जेठ २४ : रुपन्देहीका जनप्रतिनिधिले सञ्चारमैत्री भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा अयोजना गरेको नवनिर्वाचित पालिका प्रमुखसँग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधिले सञ्चार संस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले सञ्चारमाध्यम र पत्रकारसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुख पाण्डेले आफू निर्वाचित भएसँगै पहिलो बैठकबाट नै बुटवलको चौराहा–चिडियाखोला सडक मर्मतको काम सुरु गरेको उल्लेख गर्दै बर्खाको समय आउन लागेकाले यसको जोखिम व्यवस्थापनको काममा लागेको बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राम्रो कामको प्रशंसा गर्न र गलत गर्दा खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

शुुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सञ्चारकर्मीलाई स्थानीय तह र जनप्रतिनिधिलाई आवश्यक स्थान दिन आग्रह गर्नुभयो । उहाँले पालिकालाई मिडियामैत्री बनाउने प्रतिबद्धता जनाउँदै समय समयमा सुझाव दिनसमेत आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूूर्व जिल्ला अध्यक्षद्वय डा बालकृष्ण चापागाईं र विनोद पहाडीले निर्वाचनमा फरक फरक पार्टीबाट जिते पनि सबैलाई समेटेर काम गर्न सुझाव दिनुभयो । महासङ्घका निवर्तमान जिल्ला अध्यक्ष यानेन्द्र जिसीले जनप्रतिनिधि सबैका साझा भएकाले सोहीअनुसार नागरिकसँग व्यवहार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार माधव नेपालले सूचनामा सहज पहुँच, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, जनसहभागितालगायतबारे सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया