कलाकार शाहलाई थुनामै राख्न आदेश

  जेठ २१, २०७९

तनहुँ, जेठ २१ : नाबालिकाको यौन शोषण गरेको अभियोगमा तनहुँ कारागारमा पूर्पपक्षको लागि थुनामा रहनुभएका नायक पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले पनि थुनामै राख्न आदेश दिएको छ । शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।

तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता शाहका वकिलहरुले  जिल्ला अदालतको आदेशविरुद्ध दुई महिनाअघि निवेदन दिनुभएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्नुभएको थियो ।

निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो । बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।

शाहले साधारण तारेखमा रिहा गर्न गरेको मागलाई उच्च अदालतले अस्वीकार गरेको छ । शाह गत फागुन १५ गते पक्राउ पर्नुभएको थियो । तनहुँ जिल्ला अदालतले चैत ११ गते पुर्पक्षका लागि थुनामा दमौली पठाउने आदेश गरेको थियो ।

यस्तै, जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पोखराले शाहलाई थुनामै राख्ने निर्णय लिएपछि समर्थकहरु निराश बनेका छन् । पीडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उच्च अदालतले शाहलाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्ने आशा समर्थकले राखेका थिए ।

अब फैसला नहुञ्जेलसम्मका लागि नायक शाह कारागारमै रहनुपर्ने भएको छ । पुनरावदेनको निर्णय चित्त नबुझेको खण्डमा सर्वोच्च अदालत जाने विकल्प खुला रहेको शाहको तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताउनुभयो ।

पीडित पक्षले नै आफूमाथि केही भएको होइन भन्नुभएको छ । मेरो अस्मिता सुरक्षित छ, मेरो अस्मितामा कही कतै दाग लागेको छैन, म चोखी छु, म कन्या छु भनेर बयान दिएकोेले थुनामुक्त हुने अपेक्षा गरिएको थियो ।

तपाईको प्रतिक्रिया