कलाकार श्रेष्ठद्वयलाई सूर्यनारायण पुरस्कार

  जेठ २१, २०७९

म्याग्दी, जेठ २१ : बेनीका कलाकार तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई शनिबार सूर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठद्वयलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले रु २०–२० हजार नगदसहित कदरपत्र प्रदान गर्नुभयो ।

बेनीका स्व सूर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारले स्थापना गरेको संस्थाले हरेक दुई–दुई वर्षमा नेपाली लोकसंस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।

तुलप्रसादलाई वर्ष २०७६ र प्रकाशकुमारलाई वर्ष २०७८ को पुरस्कार प्रदान गरिएको छनोट समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठद्वयले कला र साहित्यका साथै स्थानीय लोकसंस्कृति र भक्तिभजनको संरक्षणमा योगदान गर्नुभएको छ ।

विसं २०७६ को पुरस्कार कोरोना (भाइरस)को महामारी र विसं २०७८ को पुरस्कार परिवारमा पर्न गएको शोकका कारण स्थगित भएकाले यसपालि संयुक्तरूपमा वितरण गरिएको संस्थाका सचिव अजयमिलन श्रेष्ठले बताउनुभयो ।

पुरस्कार वितरण गर्नुहुँदै नगरप्रुमख केसीले म्याग्दीको कलाकारितासँगै व्यापार, कृषि र सामाजिक रुपान्तरणमा स्व सूर्यनारायण श्रेष्ठको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा नगरपालिकाले जोड दिने बताउनुभयो । विसं २०४९ देखि हालसम्म १७ जनालाई पुरस्कार प्रदान गरिएको छ ।

भैरवबहादुर श्रेष्ठ (२०४९), टीकाबहादुर श्रेष्ठ (२०५०), दीपबहादुर खड्का (२०५२), धनकुमारी थापा (२०५३), रत्नप्रसाद श्रेष्ठ (२०५४), ठाकुरप्रसाद पराजुली (२०५६), वीरबहादुर कार्की (२०५८), खड्ग गर्बुजा (२०६०), होमनाथ सुवेदी (२०६२), लक्ष्मीप्रसाद श्रेष्ठ (२०६४), अबिरकुमार श्रेष्ठ (२०६६), ध्रुवलाल शर्मा (२०६८), अङ्गद श्रेष्ठ (२०७०), खगेन्द्रमिलन श्रेष्ठ (२०७२), डा कर्ण बानियाँ (२०७४)मा पुरस्कृत हुनुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा संस्थाका सञ्चालक सुर्दशनकुमार श्रेष्ठ, साहित्यकार ध्रुवलाल शर्माले स्व सूर्यनारायण श्रेष्ठको योगदानका बारेमा जानकारी गराउनुभएको थियो । सञ्जयकुमार श्रेष्ठ नेतृत्वको कलाकार टोलीले सूर्यनारायण श्रेष्ठको जिवनीसम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो । पुरस्कृृत कलाकार श्रेष्ठद्धयले लोकभजन प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया