स्टकहोल्म, जेठ २० : बिहीबारदेखि यहाँ सुरु भएको संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकले स्वस्थ पृथ्वीका लागि तत्कालै सबै लाग्नुपर्ने आग्रह गरेको छ । सो बैठकमा विश्वमा वातावरण विग्रिँदै गएको र जलवायु परिवर्तनका कारण धेरै असरहरु देखिन थालेको भन्दै यसका लागि विश्वका देशहरु नै लाग्नुपर्ने बताइएको छ ।
बैठक विश्वमा देखिएको वातावरणीय नकारात्मक असरहरुलाई कम गर्नका लागि आवश्यक पर्ने कदममा केन्द्रित भएको बताइएको छ ।‘स्टकहोल्म प्लस ५० ः सबैका लागि र समृद्धिका लागि स्वस्थ पृथ्वी’ नाम दिइएको सो बैठकमा यस्तो पृथ्वी निर्माण गर्ने दायित्व सबैको भएकोमा चर्चा गरिएको छ ।
यसअघि सन् १९७२ मा मात्र स्वीडेनले संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकको आयोजना गरेको हो । पचास वर्षपछि आयोजना भएको यस बैठकमा अहिले विश्वमा झन् वातावरणीय विनास हुदै गएकाले बैठकको सान्दर्भिकता रहेको बताइएको थियो ।विश्वमा विकासशील देशहरु यो वातावरणीय विनासमा झन् पीडित भएका पनि सो अवसरमा छलफल भएको बताइएको छ ।






