बलेवा, जेठ १९ : बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ । पानीको मुहान गाउँभन्दा झण्डै ६ किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो ।
एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो । गाउँमा पानी त आयो तर ढुक्कका साथ गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन् । लामो दूरीमा पाइपलाइन भएकाले वर्षामा बाढी पहिरोले पटक पटक अवरुद्ध हुनेगरेको छ । हिउँदमा मुहान सुक्छ ।
असारदेखि फागुनसम्म पानीको समस्या कम हुन्छ । फागुनदेखि वैशाखसम्म खडेरीले निकै पिरोल्छ । “आकाशको पानी आउँदा मुहान सर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन्, तर बाढी पहिरोले भने अवरुद्ध हुन्छ”, बागलुङ नगरपालिका–६ का मानबहादुर केसीले भन्नुभयो, “पहिलाभन्दा घर पनि बढेका छन्, पानी धेरै चाहिन्छ । पानीको मात्रा कम छ ।” वर्षा हुँदा खानेपानीको समस्या कम हुन्छ ।
यहाँ नजिकमा पानीका मुहान छैनन् । अधिकांश गाउँमा खानेपानीको समस्या छ । विसं २०५८ मा ६ किलोमिटर टाढा तितौरेबाट पानी ल्याउने काम सुरु भएको हो । विसं २०६४ मा मात्र गाउँमा पानी पुगेको केसी सम्झन्छन् । “ट्याङ्कीमा जम्मा गरेर घर घरमा पुगेका पाइपमा पानी बाँडेर काम चलाइएको छ, धारा बनाउन र पानी व्यवस्थित गर्न अझै बाँकी छ”, उहाँले भन्नुभयो, “यसअघि वडाले पहिला पानी नभएका ठाउँमा काम गर्ययो, जसोतसो चलेकै थियो, अब व्यवस्थित होस् ।”
एक्काइस वर्ष अघि जडान भएको पानी ल्याउने पाइप सानो भएको र मुहान थप गरेर भएपनि बाह्रै महिना २४सैँ घण्टा पानी आउने वातावरण हुनुपर्ने केसीजस्तै वडावासीको माग छ । यो मुहानको पानी यहाँका ४०० घरपरिवारले प्रयोग गर्ने गरेका छन् ।
बागलुङ नगरपालिका–६ का २५० परिवारलाई अझै पनि खानेपानीको समस्या छ । लाकुरीबोट, धारापानी, पैञ्युपाटा, भान्साको छापलगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घरघरमा पानी पुर्ययाउन समस्या रहेको वडाध्यक्ष रुद्रबहादुर कसीले बताउनुभयो । पुराना पँधेरा र कँुवाको भरमा खानेपानीको जोहो गरिँदै छ । ती पँधेरा र कुवासमेत सुक्खा समयमा सुक्ने भएकाले लिफ्टििङ प्रविधिबाट त्यहाँ पानी पुर्ययाउने योजना रहेको उहाँले सुनाउनुभयो ।
“बर्खाको समयमा खासै समस्या हुँदैन्, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ”, केसीले भन्नुभयो । पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले खानेपानीको समस्या झेल्नुपरेको हो । सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन ।
“मौरीभिरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन्”, केसीले भन्नुभयो, “घरघरै धारा बनाउन त पानीको मुहान चाहियो ।” वडा नं ६ को भीरलाङ्कुरी, लंगाउँ, तिनतलेलगायत ठाउँमा लिफ्टििङ प्रविधिबाट पानी पुर्ययाइने र बाँकी गाउँमा समेत उपयुक्त मुहानको खोजी गरेर समस्या समाधान गरिने वडाध्यक्ष केसीले बताउनुभयो ।