काठमाडौँ, जेठ १७ : देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसक्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको मतगणनाकार्य पनि भोलिपल्टैदेखि सुरु भयो । प्रारम्भिक चरणदेखि युवा एवं स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै थियो । त्यसलाई निरन्तरता दिँदै मतगणनाको १३ दिनपछि साह नगरप्रमुख बन्नुभयो ।
अहिलेको निर्वाचन नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो हो । नेपालको सबैभन्दा पुरानो र ठूलो महानरमा पहिलोपटक स्वतन्त्र उम्मेदावर युवा बालेन्द्र साहलाई विजय हुनु मतादाताले खोजेको नयाँपन मात्र नभइ पटक–पटक ठूला राजनीतिक दलका जनप्रतिनिधिले जनताको सपनालाई पूरा गर्न नसक्नुको परिणामका रुपमा पनि लिन थालिएको छ ।
साहको प्रतिबद्धतापत्रमा नागरिकको दैनिकीभन्दा पर पुगेर मनोरेल मेट्रोरेलजस्ता तत्काल गर्न नसकिने काम छैनन्, महानगरमा फोहर व्यवस्थापन, अपुग खानेपानीको आपूर्ति, अव्यवस्थित तार व्यवस्थान ट्राफिक जामजस्ता समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सहजरुपमा नागरिकको पहँुचलगायतका विषयलाई आफ्नो मुख्य कामको रुपमा लिइएको छ ।
काठमाडौँ देशको संघीय राजधानी हो, संस्कृतिको धरोहर हो । यहाँ फरक किसिमको राजनीतिक आस्था र विश्वास छ । आफ्नो पिता पूर्खादेखिको मतदान गर्ने संस्कारलाई परिवर्तन गरेर स्वतन्त्रतर्फ भोट केन्द्रीत गर्न सक्नुपनि साहको अर्को साहस हो । मतगणना सुरुदेखिनै आम मानिसको चासोको विषय बनेको थियो, काठमाडौँमा के हुन्छ ? ‘कोर एरिया’मा प्रवेश नगर्दासम्म राजनीतिक दलबाट आफूले प्रमुखको उम्मेदवारी दिएका नेपाली कांगेसको तर्फबाट सिर्जना सिंह र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट केशव स्थापितको आशा जीत तर्फनै थियो ।
जब कोर एरिया मानिने क्षेत्रको मतगणना कार्य सुरु भयो, जहाँ बालेन्द्रले आफूलाई पछि नपारी आफ्नो अग्रता कायमै राख्दै जानुभयो । यसरी साहको अग्रता कायम भइरहँदा सिंह र स्थापितले आफूले जित्ने आशा मार्दै भन्ने थाल्नुभयो, मतदाताको एकएक भोटको पनि सम्मान गछौँ ।
साह आफुलाई गत शुक्रबार मुख्य निर्वाचन कार्यालय काठमाडौँले निर्वार्चित घोषणा गरेलगत्तै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलमा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी पदभार ग्रहण गरेको दिन सोमबार पनि उहाँले कामपाको फोहर व्यवस्थापको काम नगरी फूलमाला र खाँदा नलगाई काममानै केन्द्रीत हुँदै सोहीअनुरुप कार्यपालिका सदस्यलाई परिचालन गर्नुभयो ।






