बागमती प्रदेशसभा : आज दुई बैठक सञ्चालन

  जेठ १४, २०७९

मकवानपुर, जेठ १४ : शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेनशनअन्तर्गत आज दुई बैठक सञ्चालन भएका छन् । आज बसेको पहिलो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।

बैठकमा दलगतरूपमा प्रदेशसभा सदस्यहरूले विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गर्नुभयो । बैठकमा २८ प्रदेशसभा सदस्यले धारणा राख्नुभएको थियो ।

बैठकमा सत्तारुढ गठबन्धन दलका सदस्य नरोत्तम वैद्य, न्हुक्षेनारायण श्रेष्ठ, विजुला बर्मा राणा, भीमसेन खत्री, विजया श्रेष्ठ केसी, सीता अधिकारी, प्रेमबहादुर पुलामी (छिन्तु), भावना सुवेदी, हीरानाथ खतिवडा, राधा घले, राजेन्द्रमान श्रेष्ठ, शोभा शाक्य, विराजभक्त श्रेष्ठ, मीना ज्ञवाली र मुनु सिग्देलले सरकारले ल्याएको बजेटको सिद्धान्त र प्राथमिकताले जनताको विषयलाई समेट्न सफल भएको तथा विगतमा लामो समयसम्म सरकारको नेतृत्वमा रहको नेकपा (एमाले)ले विरोध गर्नकै लागि सरकारको विरोध गरेको आरोप लगाउनुभयो ।

यस्तै प्रदेशको प्रमुख प्रतिपक्ष दल एमालेका कैलाशप्रसाद ढुङ्गेल, केशवप्रसाद पोखरेल, जुनेलीमाया श्रेष्ठ, प्रदीपकुमार कटुवाल, नारायण सिलवाल, मैना अछामी, सरेश नेपाल, सरस्वती बस्नेत, सीता लामा र शान्तिप्रसाद पौडेलले विगतको सरकारले ल्याएका राम्रा योजना कटौती गरेको आरोप लगाउनुभयो । वर्तमान सरकारले ल्याएको विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकता विगतको सरकारको भन्दा फरक नभएको उहाँहरूको भनाइ छ । उहाँहरुले वर्तमान प्रदेश सरकारले जनताका समस्या र पीडालाई समेट्न नसकेको जिकिर गर्नुभयो ।

त्यसैगरी विवेकशील साझाका रमेश पौड्याललगायत सदस्यले सरकारका पाँचवर्षे यात्रालाई समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँहरुले बजेटको प्राथमिकताभन्दा पनि बजेट खर्चमाथि समीक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको प्रि–बजेटमा दलगत र क्षेत्रगत विभेद गरिएको आरोप लगाउनुभयो ।

यस्तै आजै बसेको प्रदेशसभाको दोस्रो बैठकमा सरकारले ल्याएको विनियोजन विद्येयकमाथि भएको छलफलमा उठेका प्रश्नको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिनुभयो ।

तपाईको प्रतिक्रिया