नीति तथा कार्यक्रममा आ–आफ्नै दृष्टिकोण

  जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभाको आजको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नीति तथा कार्यक्रमले जनतालाई छुन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद लिङदेनले रोजगारीका लागि विदेशिएका युवा, खेतीपातीका लागि किसानले मल नपाएको सन्दर्भलाई कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद सुरेन्द्र कार्कीले शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा परिवर्तन हुन नसकेको यर्थाथता प्रस्तुत गर्दै ती क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गर्नुभयो । किसानले भरिएको देश भएकाले त्यस क्षेत्रमा लगानी बढाउनु जरुरी रहेको सांसद कार्कीको भनाइ छ । शिक्षा, स्वास्थ्यमा क्यूबाले गरेको प्रगतिको तथ्य पेश गर्दै नेता कार्कीले कम्युनिस्टको सरकार भएकै बेलासमेत प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो । सांसद कार्कीले सरकारको नीति तथा कार्यक्रममा सबै विषय समेटिएको भएपनि कुनै पनि प्राथमिकता निर्धारण हुन नसकेको उल्लेख गर्नुभयो ।सांसद कार्कीले बिजुली बिक्री गरेर धनी हुने सम्भावना त्याग्न आग्रह गर्दै देशभित्रै खपत हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।

सोही दलका सांसद अमनलाल मोदीले भत्ताका लागि मात्रै भएपनि कार्यालयभन्दा पछाडि बैठक राख्ने प्रवृत्तिको अन्त्य गर्ने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका युवा समस्यामा परेको, हुण्डीमार्फत आउने पैसालाई वैधानिक माध्यमबाट भित्रने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्ष नभनेर राष्ट्रिय हितका लागि एकताबद्ध हुन आग्रह गर्नुभयो ।

माओवादीकै सांसद पूर्णाकुमारी सुवेदीले कृषिमा सहुलियत ऋण, रासायनिक मलको सहज आपूर्तिको प्रबन्ध हुने गरी बजेटको व्यवस्था हुने विश्वास व्यक्त गर्नुभयो । गणतन्त्र प्राप्तिका लागि शहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकको अवस्थाको तत्काल यर्थाथ विवरण सार्वजनिक गर्न आग्रह गर्नुभयो । सांसद अमृता थापाले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको टिप्पणी गर्दै कृषिलाई बढावा दिइनु, अनुदानको व्यवस्था गरिनु समयसापेक्ष रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले विभिन्न जिल्लामा नागरिकले नागरिकता पाउन नसक्दा समस्या खडा भएको, उनीहरु समस्यामा परेको तथा व्यापार व्यवसायसमेत गर्न नपाएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले नीति तथा कार्यक्रमले कृषि क्षेत्रको विकासलाई विशेष ध्यान दिइएको भएपनि अर्गानिक र रासायनिक मलको प्रयोगका सम्बन्धमा देखिएको दोहोरोपन हटाउनुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया