घुस लिएको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता

  जेठ १२, २०७९

काठमाडौं, जेठ १२ : रौतहट जिल्लाको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माविका जोकाहा घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुरले तीन लाख घुस लिएको आरोपमा आरोपपत्र दायर गरिएको छ ।

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्न सेवाग्राहीसँग तीन लाख घुस लिएको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

प्रधानाध्यापक ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत चैत ३० गते नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा ठाकुरले करार अवधि थप गर्नका लागि घुस माग गरेको र झालाई पैसा लिन लगाएको पुष्टि भएको जानकारी दिनुभयो । अख्तियारले ठाकुर र झालाई तीन लाख बिगो दाबीसहित मुद्दा दर्ता गरेको छ ।

तपाईको प्रतिक्रिया