नयाँदिल्ली, जेठ १२ : दिल्लीे उच्च अदालतका ६६ वर्षीय वकिल टिएल वाली अवकाशको प्रतीक्षामा थिए । देशमा जीवनयापन लागत बढ्दै गएपछि उनी अब आफ्नो बचतमा निर्भर हुन बाध्य छन् । औषधि, घुमफिर र घरायसी खर्चको जोहो गर्न लामो समयसम्म उनले काम गरिरहनुपर्नेछ ।“म सेवानिवृत्त जीवनको बारेमा सोच्न पनि सक्दिन,” आफ्नो रकम झिक्न हुलाक बचत बैंक आएका उनले रोयटर्सलाई भने । उनले फलफूल, बाहिर खान र आफन्तलाई भेट्न छोडेका छन् । उनको अहिलेको आम्दानी कोभिड–१९ ले प्रहार गरेअघिकोभन्दा आधा कम छ । महामारी अघि जेनतेन गुजारा गरेका उनलाई अहिले कठिन भएको छ । बचतबाट प्राप्त हुने थोरै ब्याजले आकाशिदो महँगीमा उनले जीवनचक्र चलाउनु छ ।
आफ्नो उमेरका धेरैलाई जीवन जिउन सहज भए पनि मुद्रास्फीतिले उनी र लाखौं अन्य वृद्ध भारतीयहरूलाई कठिन विकल्प रोज्न बाध्य पारेको छ । महामारीका कारण विश्वव्यापी आपूर्तिमा उत्पन्न समस्यासँगै खाद्य र इन्धनमा तीव्र रूपमा बढेको मूल्यले विश्वभरका वृद्धहरूलाई मार परेको छ । अनि युक्रेन युद्धले उनीहरूका घाउमा नूनचुक थपेको छ । राज्यबाट प्राप्त हुने थोरै निवृत्तिभरणले अल्पसङ्ख्यक सेवानिवृत्तलाई उचित स्वास्थ्य सेवा वहन गर्न सघाएको छ । साठी वर्ष र त्यसभन्दा माथिको उमेरका करिब एक करोड ५० लाखमध्ये झण्डै १० प्रतिशत घरबारविहीन छन् । गत महिना विगत आठ वर्ष यताकै उच्च ७.७९ प्रतिशतले महँगी बढेको मुख्य समाचारले सञ्चारमाध्यममा प्राथमिकता पायो ।
उपभोक्ता मूल्य सूचकाङ्कको झण्डै आधा हिस्सा ओगटेको खाद्य वस्तुमा गहुँ, खाने तेल, तरकारी, फलफूल, मासु र चियाको मूल्य एक वर्षमा १० देखि २५ प्रतिशतले बढेको छ । खाना पकाउने ग्यास र पेट्रोलको मूल्य ४० प्रतिशतभन्दा बढीले बढ्दा कम आय भएकाहरूलाई नराम्ररी पिरोलेको छ । मुद्रास्फीतिले वृद्धवृद्धालाई सबैभन्दा ठूलो धक्का दिएको, ६० वर्ष वा सोभन्दा बढी उमेरका १३ करोड ८० लाखले बाँच्नका लागि पर्याप्त कमाउन काम गरिरहेका हेल्पएज इन्डिया च्यारिटीकी निर्देशक अनुपमा दत्त बताउँछिन् । धेरै सेवानिवृत्तहरू दशकौंअघि गरिएको बचतमा निर्भर भएका छन् । दैनिक उपभोग्य सामान खरिदका लागि आफ्ना बचत खाताबाट उनीहरूले धेरैभन्दा धेरै रकम निकालिरहेका छन् ।






