सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नपर्ने

  जेठ १०, २०७९

वाग्मती, जेठ १० : राष्ट्रपति विधा भण्डारीद्वारा २०७९/८० का लागि संसद्मा आज प्रस्तुत वर्तमान सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको भए पनि आगामी दिनमा यसको कार्यावन्यन प्रभावकारीरूपमा हुनुपर्नेमा जोड दिइएको छ ।

प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रम आए पनि कार्यावन्यन फितलो हुँदा समस्या आउने गरेको वन विज्ञान अध्ययन संस्थान हेटौँडाका प्रा डा शिवकुमार महाजनले बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी तथा विकास निर्माणमा नीति तथा कार्यक्रमले विशेष जोड दिएकाले त्यसलाई अक्षरशः पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्व–पश्चिम राजमार्गलाई चारलेनको बनाउने, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, संस्थानलाई निजीकरण वा सुधार गर्ने, महिलाको स्वास्थ्य सुधार गर्ने, कृषिको विकास गर्नेलगायतका विषय महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

हेटौँडाका वरिष्ठ पत्रकार कौशल पाण्डले सरकारको नीति कार्यक्रम राष्ट्र तथा जनताको आवश्यकतालाई ध्यानमा राखेर बनाइएकाले कुनै पनि भेदभाव नगरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । साथै मुलुकको वर्तमान आर्थिक सङ्कटलाई नीति तथा कार्यक्रम र बजेट सम्बोधनमार्फत समाधान गर्नुपर्ने र त्यसमा राजनीतिक सहमति आवश्यक रहेको उहाँको भनाइ छ ।

हेटौँडाका उद्योगी रामप्रवेश ठाकुरले हरेक वस्तुको महँगीले उद्योग कलकारखाना धराशायी हुँदै गएकाले त्यस विषयमा आएका केही विषयवस्तु सकारात्मक रहेको छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया