गलेश्वर, जेठ १० : तत्कालीन पर्वत राज्यको मुकाम रहेको म्याग्दीका बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट, ताकम र ज्यामरुककोटमा रहेको ऐतिहासिक देवल र पुरातात्विक सम्पदा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।
यहाँ मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल, मठमन्दिर, कँुवा, धारा, ओखल आदि सम्पदा प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा पर्दै गएका हुन् । वडा दसैँ, चैते दसैँ, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र विभिन्न चाढ पर्वहरुको समयमा मानिस जम्मा हुने मात्रै तर ती ऐतिहासिक धरोहरका अमूल्य सम्पदाको मर्मत–सम्भार, संरक्षणबारे कुनै योजना नबनाउँदा नष्ट हुँदै गएका हुन् ।
म्याग्दीका विभिन्न ठाउँमा ढुङ्गैढुङ्गाले बनेका शिखर शैलीका थुम्का, देवल र मठ रहेका छन् । पर्वतका मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएका ओखल र कुँवा पनि संरक्षणको अभावमा पुरिँदै जान थालेका स्थानीयले बताएका छन् । विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको म्याग्दीका इतिहासकार तथा विसं २०७७ को मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले उल्लेख गर्नुभएको छ ।
१४औँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले नेपालभर प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरबारदेखि केही तल केभहिलको नजिकैमा रहेको छ । यहाँ प्रशस्तै ऐतिहासिक सम्पदा रहेका भए पनि संरक्षणको अभावमा ती सम्पदाहरू लोपहुँदै गएका स्थानीय यामबहादुर बानियाँले बताउनुभयो ।
ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका विभिन्न स्थानीय तहका मनोरम दृष्यावलोकन गर्न सकिने स्थानीय बासिन्दासमेत रहनुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले बताउनुभयो ।
समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर बानियाँले जानकारी दिनुभयो ।