सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड

  जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ ।

नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो । सङ्घीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीअनुसार ‘राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने’ कार्यक्रम तय भएको छ ।

करिब–करिब चालु आर्थिक वर्ष नीति तथा कार्यक्रमविहीन अवस्थामा मुलुक चल्नुपरेको तितो यर्थाथबीच गठबन्धन सरकारको तर्फबाट ल्याइन लागेको कार्यक्रमप्रति आम जनताको चासो रहेको देखिन्छ । विसं २०७८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण चालु आव नीति तथा कार्यक्रमविहीन बन्न पुगेको थियो । सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेर सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई तत्कालीन पाँचदलीय गठबन्धनले अस्वीकार गरिदिएको थियो ।

सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने दिन नजिकिँदै गर्दा प्रतिनिधिसभा विघटन गरिएका कारण चालु आवको बजेटसमेत अध्यादेशमार्फत सार्वजनिक गरिएको थियो । सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरूत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको बताइएको छ ।

नीति तथा कार्यक्रमका समावेश गरिने विषयवस्तुका बारेमा गठबन्धन दलका शीर्षनेताहरूबीच औपचारिक–अनौपचारिक छलफल भई एउटा निष्कर्षमा पुगिसकेको अवस्था छ । कार्यक्रमलाई व्यवहारिक र समायनुकूल बनाउने विषयमा महत्वपूर्ण छलफल भएको र राष्ट्रिय आवश्यकतालाई ख्याल गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया