नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना हुँदै

  जेठ ०९, २०७९

काठमाडौँ, जेठ ९ : नेपाल अफ्रिका फिल्म फेस्टिभलको १०औँ संस्करण जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेभएको छ ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसनको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न देशका सयभन्दा बढी फिल्म प्राप्त भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताउनुभयो । नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।

नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गरिँदै आएको छ । प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकी मुलुकका धेरै कुरा मिल्दाजुल्दा छन् जसलाई चलचित्रको माध्यमबाट उजागर गर्ने प्रयास गरिएको छ ।

अध्यक्ष मिश्रका अनुसार अफ्रिकालाई अब हामीले पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर विगत १० वर्षदेखि यो महोत्सव आयोजना गरिँदै आएको हो । महोत्सवमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जसमध्ये आठवटा चलचित्र खुला प्रतिस्पर्धाअन्तर्गत रहेका छन् । जसमा ‘द ब्लाक कर्नर’, ‘ऐना’, ‘राइज’, ‘शङ्का’, ‘कुइनेटो’, ‘गरिमा’, ‘द डटर’, ‘थर्ड आई’ छन् ।

विदेशी फिल्मतर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोस्ट अफ स्पेस टाइम, अल्जेरियाको ला चेम्बर, क्यामरुनको लेस मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कङ्गोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया-अस्ट्रिया-जर्मनीको लाइफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेसिया-यूएसएको द मेन हु विकेम म्युजियम छन् । यस्तै इजिप्टबाट यस पटक दिस इज माई नाइट, आजिया, द अदर चेक, एबाउट ए गर्लसहित चारवटा चलचित्र चयन भएका छन् ।

तपाईको प्रतिक्रिया