सुमन शेखर मानन्धरको ‘साम से ही दिल’

  जेठ ०९, २०७९

काठमाडौं, जेठ ८ : भारतीय सङ्गीत कम्पनी ‘टी सिरिज’ले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गजल ‘साम से ही दिल’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गजल रिलिज गरिएको हो । गजलमा हिन्दी र उर्दू भाषाको प्रयोग गरिएको छ ।

वरिष्ठ फिल्म निर्देशक तथा गीतकार नीर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक सुमन शेखर मानन्धर, संगीतकार इम्तियाज वफास, कलाकार निर्जन थापासहित अन्य कलाकार उपस्थिति थियो । गजलमा अभिनेता सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय देख्न सकिन्छ ।

निर्देशक शाहले नेपालीमा अनुवाद गर्दै यसकाे भाव पनि सुनाउनुभयो । गायक सुमन मानन्धरका बुवा तथा वरिष्ठ सञ्चारकर्मी शेखर मानन्धरलाई सम्झिएर नोस्टाल्जिक बन्दै शाहले आफ्नो भाव व्यक्त गर्नुभएको हो ।

गायक मानन्धरले भने यो गजल हेरेपछि नेपालको रारा ताल घुम्न आउने हिन्दी र उर्दूभाषी पर्यटकको संख्यामा वृद्धि हुने बताउनुभयो । यस्तै, गीतकार इम्तियाज वफाले गजलले नेपालको पर्यटन क्षेत्रलाई फाइदा पुग्ने र हरेक भाषालाई उत्तिकै सम्मान गर्नुपर्ने बताउनुभयो । साथै, छिट्टै अन्य नेपाली गीतमा पनि काम गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

रारा, स्वयम्भू  र चितवन राष्ट्रिय निकुञ्जमा खिचिएको यो गजल तीन वर्ष तीन दिनपछि मात्र सार्वजनिक भएकाे  गायक मानन्धरले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया