काठमाडौँ, जेठ ९ : आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ ।
गठबन्धन सरकारको तर्फबाट आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीति तथा कार्यक्रमप्रति आम नागरिकको चासो उत्तिकै बढेर गएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक मङ्गलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । चालु आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समय आउनै लाग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका कारण सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेन ।
संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । त्यसको एक साता अगाडि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आएको थियो । नीति तथा कार्यक्रममा नै केन्द्रीत रहेर बजेट प्रस्तुत गर्ने कार्यसूची तय हुँदै आएको भएपनि २०७८ जेठ ८ गते मध्यरात पुनः प्रतिनिधिसभा विघटन गरियो ।
यद्यपी, सो विघटनलाई सर्वोच्च अदालतले गत असार २८ गते अवैध ठहर गर्दै पुनः स्थापना गरिदियो । सोही पृष्ठभूमिमा वर्तमान सरकार गठन भएको हो । चालु आवका लागि राष्ट्रपतिले संघीय संसदको संयुक्त सदनमा वाचन गरी पेश हुने नीति तथा कार्यक्रम २०७८ जेठ १४ गते सिंहदरबारबाट बाचन गरियो ।
बजेट पनि त्यस्तै गरियो र अध्यादेशबाट जारी गरियो । आउन त जेठ १५ गते नै आयो । तर, विघटित प्रतिनिधिसभामा पेश हुन पाएन । सर्वोच्च अदालतको आदेशअनुसार तत्कालीन प्रधानमन्त्रीको गलत परिघटनाबाट पाठ सिक्दै यस पटक भने संघीय संसद्मा नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न गठबन्धन दलहरुबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बैठकमा नीति तथा कार्यक्रमलाई व्यवहारिक र समायनुकूल बनाउने विषयमा छलफल भएको बताइएपनि आधिकारिक रुपमा केही बताइएको छैन ।
गठबन्धन आवद्ध दलका नेताहरुले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय आवश्यकता, जनताको चाहना र अर्थतन्त्रमा देखिने भनिएको समस्या समाधानका लागि केन्द्रीत हुनुपर्ने सुझाव प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको बताइन्छ ।