पोखराको प्रमुखमा गठबन्धनका आचार्य तीन हजार ४३७ मतले अगाडि

  जेठ ०८, २०७९

कास्की, जेठ ८ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ ।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेकामा आज साँझ ८ बजेसम्म एक लाख १२ हजार ५८० मतगणनामा प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४३७ मतले अघि हुनुहुन्छ । आचार्यले हालसम्म ४५ हजार २७ मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णबहादुर थापाको ४१ ह्जार ५९० मत रहेको छ । मतगणनाको सुरुआतदेखि नै अग्रता बनाउनुभएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल हुनुभयो ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४७ हजार ३२४ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४४ हजार ९६४ मत रहेको छ । उपप्रमुखमा गुरुङ दुई हजार ३६० मतले अघि हुनुहुन्छ ।

पोखरामा हालसम्म २३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १६ वडामा जीत हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ । अहिले वडा नं ११, १७, १८, १९, २१, २२, ३०, ३१, ३२ र ३३ नं वडाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार रातिसम्म पोखराको सबै वडाको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया