नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध

  जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गर्नुभएको छ । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र  द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ । भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवम् दुई देशबीचको विकास साझेदारीका लामो सम्बन्धबारे छलफल भएका थियो ।

गृहमन्त्री खाणले भूकम्पछिको पुनः निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियासँग बताउनुभयो । उहाँले विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पु-याएको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री खाणले मानव अधिकार पर्वद्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रुपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायका लागि उदाहरण बनेको बताउनुभयो ।त्यस्तै, नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासका लागि अमेरिकाले गरेको सहयोगलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै, सन् १९८९ भन्दा अघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको गृहमन्त्री खाणले उपमन्त्री जियालाई जानकारी गराउनुभयो । त्यसका लागि उपमन्त्री जियाले धन्यवाद व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणको लागि अनुरोध गर्नुभयो । उपमन्त्री जियाले अनुरोधका लागि धन्यवाद व्यक्त गर्दै आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताउनुभयो । अमेरिकी सहयोग नियोग एमसीसी संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गर्नुभयो ।

साथै, अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि उहाँले दिनुभयो । भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया