तीन दिनदेखि चितवन अन्धकार

  जेठ ०८, २०७९

भरतपुर बैशाख ८ : विद्युत अवरुद्ध हुँदा चितवन विगत तीन दिन देखि अन्धकारमय भएको छ । गत शुक्रवार पानीसँगै आएको हावाहुरीले विजुलीको पोल भाचेपछि अवरुद्ध भएको विजुली अझै मर्मत सुधार हुन नसक्दा चितवन अन्धकारमै बनेको हो ।

“अस्पताल, नेपाली सेनाको ब्यारेक, प्रहरी कार्यालय र मत गणना स्थल र खानेपानी कार्यालयमा वाहेक अन्यत्र अहिले विजुली छैन”, नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पौडेल भन्नुहुन्छ, “विजुली नहँुदा यसले जनमानसमा प्रभाव पार्ने त भयो नै जिल्लाका उद्योग कलकारखाना पनि वन्द कै अवस्थामा छन् ।”

भरतपुरका अशोक तामाङ लामो समय सम्म विजुली अवरुद्ध हुँदा घरमा अन्धकारमा बस्नु परेको गुनासो गर्नुहुन्छ । “तिन दिन सम्म लाइन नआएपछि इन्भटरले पनि काम गर्न छाड्यो तत्काल मर्मत गर्न उहाँले माग गर्नुभयो । तीन दिनसम्म पनि भाँचिएका पोलहरु मर्मत गर्न नसक्नु प्राधिकरणको कमजोरी भएको उहाँको आरोप छ ।

विजुलीको अभावमा अहिले सूचनाको प्रविधि समेत बन्द भएको छ । नेटइन्टर नेट सेवा पनि विजुलीको अभावमा अवरुद्ध भएको छ । लाइन नहुँदा विजुलीका गाडीहरु पनि चार्चिङ हुन सकेका छैनन भने लामो समयसम्म विजुलीको बैकल्पिक ब्यवस्था गर्दा होटल ब्यवसायीहरुले पनि ग्राहक राख्न नसक्ने अवस्था आएको छ ।

शुक्रवार साँझ आएको हावाहुरीले चितवनका विभिन्न ठाउँमा विजुलीका पोल भाचिएका छन् । जिल्लाका कम्तीमा पनि ८० वटा पोल भाँचिएको प्राधिकरणले जनाएको छ । भँचिएका पोलहरु फेर्ने कार्य शुरु भैसकेको पनि इन्जिनियर पौडेलले जानकारी दिनुभयो । अहिले सम्म ४० वटा पोलको मर्मत सुधार तथा नयाँ परिवर्तन भैसकेको छ वाँकी पनि गर्दै छन्”, उहाँले गोरखापत्रसँग भन्नुभयो ।

अझै ४० वटा पोलको मर्मत सुधार तथा परिवर्तन गर्नुपर्ने हुदा अझै केही दिन विजुली नआउने होकी भन्ने चिन्ता यहाँ रहेको छ तर ईन्जिनियर पौडेल भने सके सम्म आइतवार साँझ नै विजुली वाल्न पाउने गरि काम भैरहेको जानकारी दिनुभयो । विजुलीको अभावमा अहिले नारायणगढ, भरतपुर, नारायणपुर, कृष्णपुर, गौरीगञ्ज, प्रेमवस्ति, क्षेत्रपुर, फुलवारी, टाँडी, सौराहा लगाएत क्षेत्र प्रभावित भएका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया