हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

  जेठ ०७, २०७९

इनरुवा जेठ ७ : सुनसरीको हरिनगर गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । शनिबार साँझ सार्वजनीक भएको अन्तिम मत परिणामअनुसार कांग्रेसका अध्यक्षका उम्मेदवार गफार अंसारी र उपाध्यक्ष पदमा रिमझिमकुमारी भगत विजयी हुनुभएको हो ।

अंसारीले ६ हजार १७२ मत र उपाध्यक्ष भगतले ६ हजार २१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय हरिनगरले जनाएको छ । नेकपा (एमाले)का लस्करी अंसारीलाई एक हजार ८०० मतान्तरले पराजित गरेका छन् । लस्करीले पाँच हजार १५४ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्ष भगतले एमालेकी कोशिलाकुमार साहलाई ८०७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । भगतले ६ हजार २१३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी कोशिलाले पाँच हजार ४०७ मत प्राप्त गरेर पराजित हुनुभएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा समेत अध्यक्षमा कांग्रेसबाट गफार अंसारी र उपाध्यक्षमा रिमझिमकुमारी भगत निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया