दुई दिन सार्वजनिक बिदा : सरकारी गाडी दुरुपयोग रोक्न बनेन योजना

  जेठ ०७, २०७९

काठमाडौं, जेठ ६ : सरकारले जेठ १ गतेदेखि परीक्षणको रुपमा सरकारी कार्यालयमा दुई दिन सार्वजनिक बिदा लागू गरिसकेको छ । यससँगै कार्यालय समय बढाएर बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म  कायम गरिएको छ ।

बिदाको प्रमुख कारण बढ्दो पेट्रोलियम पदार्थको खपतलाई कम गर्ने सरकारको योजना छ । तर बिदामा पेट्रोलियम पदार्थको खपत कसरी कम गर्ने भन्ने विषयमा सरकारले कुनै पनि रणनीतिक योजना  बनाउन सकेको छैन ।

गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख शिवराम पोखरेले सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि सरकारी गाडीको दुरुपयोग हुनबाट के कसरी बचाउने भन्ने विषयमा कुनै योजना बनी नसकेको बताउनुभयो ।

महाशाखाकै कुरालाई आधार मान्दा सरकारले कुनै कदम चालेको देखिँदैन । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै जारी गरिएको सार्वजनिक विदाको विषमा केही योजना हुनुपर्ने हो । तर, त्यो पनि भएको पाइँदैन । जसका कारण सार्वजनिक बिदाको दिन सार्वजनिक सवारी चलाएमा कारबाही के हुने भन्ने जवाफ स्वयं सरकारसँग छैन ।

महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार, सरकारले गरेको निर्णय अनुसार नै दुई दिन सार्वजनिक बिदामा गाडी चलाउन नपाइने हो । सरकारको निर्णय अनुसार नै सातामा दुई दिन गाडी चलाउन कर्मचारीलाई प्रतिबन्ध छ । तर, चलाए के गर्ने भन्ने विषयमा अहिलेसम्म केही निर्णय भएको  छैन ।

गृह मन्त्रालयले सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउनु परे अनिवार्य पास लिएर चलाउनुपर्ने व्यवस्था भने गरेको छ । केन्द्रको हकमा गृह मन्त्रालय, प्रदेशको हकमा प्रदेश प्रमुख सचिव र जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीले पास दिनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ ।

‘‘हाल तीन तहकै संरचना भएको हुँदा पासलाई व्यवस्थापन गर्न केन्द्रको हकमा गृह मन्त्रालय, प्रदेशमा प्रमुख सचिव र जिल्लामा प्रजिअले पासलाई स्वीकृत गर्ने निर्णय भएको छ ।’’ उहाँले भन्नुभयो । तर अरु निर्णय भने भएको छैन ।’

पेट्रोलियम पदार्थको खपत ३० प्रतिशतले कटौति गर्ने भनेर यसअघि नै अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई परिपत्र गरेको थियो । उक्त प्रस्ताव अनुसार नै लक्ष्य हासिल हुने सम्भावना रहेको उहाँको भनाइ छ । तर, कति कम हुन्छ ? सवारी चलाय कारबाही के हुन्छ ? भन्ने कुरा सरकारले नै आँकलन गर्न नसकेको पनि पोखरेलको भनाइ छ ।

यसैगरी, पूर्व मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले सरकारले दुई दिने सार्वजनिक बिदाको बारेमा स्पष्ट कार्यविधि बनाएर मात्र बिदा लागू गर्नुपर्ने बताउनुभयो । ‘नेपालमा पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन सार्वजनिक बिदा दिइएको छ । त्यसैले कार्यविधि पनि अपरिहार्य छ । उहाँले भन्नुभयो, कार्यविधि नै नबनाइ लागू गर्दा खपत घट्न सक्दैन ।’

सातामा दुई दिन बिदा दिँदा अन्य सार्वजनिक बिदाको हकमा पनि पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ । ‘‘सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिँदा अन्य सार्वजनिक बिदाको बारेमा के गर्ने रु भन्ने सोचेको छ कि छैन थाहा छैन तर सरकारले अन्य सार्वजनिक बिदा बारेमा पनि पुनर्विचार गर्नुपर्छ ।’’ उहाँले भन्नुभयो ।

बिदामा सरकारी सवारीको दुरुपयोग भए स्वयम् व्यक्ति जिम्मेवार हुनुपर्ने क्षेत्री बताउनुहुन्छ । ‘‘सरकारी बिदाको दिन सवारी नै चलाउन नदिनु पनि त्यति व्यावहारिक देखिँदैन । अत्यावश्यक काम परे तत्काल हिँड्नुपर्ने हुनसक्छ । यसैले सरकारी सवारीको दुरुपयोग हुनबाट जोगाउन व्यक्ति नै बढी जिम्मेवार हुनुपर्छ ।’’ उहाँले भन्नुभयो ।

पूर्व मुख्यसचिव क्षेत्रीका अनुसार, सबै सवारी साधनलाई बाटोमा रोकेर पास हेर्न पनि ट्राफिकलाई समस्या हुनसक्छ । त्यसकारण व्यक्ति नै बढी जिम्मेवार हुनुपर्छ ।

यस्तै, पूर्व अर्थ सचिव कृष्णहरि बाँस्कोटाले दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी सवारीको नियमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा जरुरी हुने बताउनुभएको छ । कार्यविधि नबनाई लागू गर्दा सवारीको दुरुपयोग बढ्न सक्ने र अपेक्षाकृत रुपमा पेट्रोलियम पदार्थको खपत घट्न नसक्ने उहाँको भनाइ छ ।

‘‘सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्नको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय त राम्रो हो । यदि नियन्त्रण र कारबाही सम्बन्धी कार्यविधि नवनाई लागू गर्दा अपेक्षाकृत रुपमा खपत कम हुन सक्दैन,’ बाँस्कोटाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया