मुख्यमन्त्री पोखरेलद्वारा हरियोखर्क अस्पताल अनुगमन

  जेठ ०४, २०७९

गण्डकी, जेठ ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरास्थित हरियोखर्क अस्पतालको आज अनुगमन गर्नुभएको छ । इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) द्वारा विसं २००९ मा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले ७० वर्ष पहिला कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले निरन्तर सेवा प्रदान गर्दै अहिले शारीरिक अशक्तता, कानको समस्या, स्पाइनल कर्ड इन्जुरी जस्ता समस्या भएका बिरामीका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

हरियोखर्क अस्पतालका बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको इतिहास र हाल गर्दै आएका कामका बारेमा स्थलगतरूपमै जानकारी लिन आफू अनुगमनमा आएको उहाँले बताउनुभयो ।

विभिन्न कारणले स्पाइनल कर्डको समस्या भएका बिरामीका क्षेत्रमा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको उल्लेख गर्दै उहाँले यसका लागि अस्पतालबाट सुझावको अपेक्षा गरेको बताउनुभयो ।

प्रदेश सरकार विकास निर्माण मात्र नभएर स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा समेत देखिने गरी काम गर्दै आएको बताउँदै उहाँले आगामी वर्षको बजेटमा समेत यस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“रगत लिँदा बिरामीका आफन्तले रकम तिर्नुपर्ने अवस्था थियो, हुन त प्राविधिक परीक्षण र अन्यमा खर्च भएको रकम हो त्यो, त्यै पनि अब प्रदेश सरकारले बेहोरिदिने भएको छ”, उहाँले भन्नुभयो । मिर्गौलाको बिरामीको निःशुल्क डायलासिस गर्नेबारेमा प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

अनुगमनका क्रममा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड््काले कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले अहिले विविध क्षेत्रमा पु¥याएको सेवाको प्रशंसा गर्नुभयो । अस्पतालको सेवा विस्तारका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।

आईएनएफका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले पोखराबाहेक सुर्खेत र नेपालगञ्जमा समेत अस्पताल सञ्चालनमा रहेको बताउँदै पोखरामा अन्यत्रभन्दा भिन्न र विशिष्टीकृत सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । अस्पतालमा उपचार मात्र नभएर जीवन कसरी जिउने भनेर त्यसै अनुसारका तालिमसमेत प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

अस्पतालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा अस्पतालका निर्देशक डा अरुणकुमार बुढाले जानकारी दिनुभयो । राणा शासनको अन्त्यलगत्तै भारतबाट आएको विशेषज्ञको टोलीले नेपालीको समेत सहभागितामा विसं २००९ मा पोखरामा सबैभन्दा पहिला साइनिङ अस्पताल खुलेको थियो । करिब ८५ लाख जनसङ्ख्या र करिब दुई प्रतिशत नागरिक कुष्ठरोगको प्रभावमा रहेका बेला पोखरामा साइनिङ अस्पताल खुलेको थियो । डा बुढाले परिवर्तित अवस्थासँगै सेवा प्रवाहमा समेत विकास गरिएको जानकारी दिनुभयो ।

अपाङ्गता भएकाका लागि कृत्रिम हातखुट्टा बनाउनेदेखि, श्रवणयन्त्रको कामसमेत उक्त अस्पतालमा हुने गरेको छ । अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, स्वास्थ्य सचिव डा श्रीराम तिवारी लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया