पोर्चुगलमा बृहत् शोभायात्रा : गुञ्जियो बुद्धध्वनि

  जेठ ०३, २०७९

लिस्बन, जेठ ३ : विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा विविध कार्यक्रमसहित बुद्धजयन्ती मनाइएको छ ।

सोमबार राजधानी लिस्बनमा बृहत् शोभायात्रासहित विविध कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाइएको हो । लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको संयोजन तथा नेपाली सङ्घसंस्थाहरुको सक्रियतामा बृहत् शोभा यात्रा निकालिएको हो ।

बुद्धका तस्बीर, बुद्धवाणी र उपदेश लिखित प्लेकार्ड तथा ब्यानर, राष्ट्रिय झण्डा, बुद्धका शान्ति सन्देश, सांस्कृतिक वेशभूषासहित निकालिएको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेको थियो । ¥यालीमा बुद्धम् शरणम् गच्छामि, धम्मं शरणम् गच्छामि, सङ्घम् शरणम् गच्छामि वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो । शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहको थियो ।

रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रा मार्तिम मुनिज पार्कमा आएर समापन भएको थियो । शोभायात्रापछि आयोजित कार्यक्रममा बौद्ध धर्मगुरु दावा लामाले बुद्ध र बुद्ध उपदेशका बारेमा संक्षिप्त प्रवचन दिनुभएको थियो ।

सो अवसरमा बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले शोभा यात्रामा सहभागीलाई धन्यवाद दिँदै बुद्धका ज्ञान, दर्शन र उपदेशको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, महावाणिज्यदूतको कार्यालयका जिपी सुवेदीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । यसअघि धर्मगुरुद्वारा भगवान् बुद्धको पूजाअर्चना गरिएको थियो ।

बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरेर विदेशीभूमिमा बुद्धजयन्ती मनाइएको महावाणिज्यदूत हमालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया