खिजीदेम्बाको अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी

  जेठ ०२, २०७९

ओखलढुङ्गा, जेठ २ : ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का गम्बु शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गर्नुभएको हो ।

शेर्पाले दुई हजार ८८२ मत ल्याउनुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत ल्याउनुभयो । नेकपा (एमाले) का रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी हुनुभएको छ । उहाँले दुई हजार ८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले दुई हजार २४१ र एमालेको उम्मेदारका पक्षमा एक हजार ७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष शेर्पा चीन, अमेरिकालगायतका देशमा बसेर नेपाल फर्किएर राजनीतिमा लाग्नुभएको हो । गायन क्षेत्रमा समेत राम्रो पहिचान बनाउनुभएका उहाँ खिजीदेम्बा गाउँपालिका–६ का स्थायी बासिन्दा हुनुहुन्छ । केही समय अघिमात्रै उहाँले अमेरिकको नागरिकता त्याग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया