बैतडीको मेलौलीमा माओवादी, सिगासमा कांग्रेस

  जेठ ०२, २०७९

बैतडी, जेठ २ : जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) विजयी हुनुभएको हो । गएको स्थानीयतह निर्वाचनमा कांग्रेस निर्वाचित भएको थियो ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीशसिंह नायकलाई पछि पार्दै चन्द प्रमुखमा विजयी हुनुभएको हो । प्रमुखमा विजयी भएका चन्दले तीन हजार ९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका जगदीशसिंह नायकले दुई हजार ३७६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा भने कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी हुनुभएको छ । उहाँले एमालेकी हेमन्ती नायकलाई पछि पार्दै उपप्रमुखमा जीत निकाल्नुभएको हो । उपप्रमुखमा विजयी कांग्रेसकी बिष्टले दुई हजार ९२७ मत ल्याउँदा एमालेकी नायकले दुई हजार ४०८ मत प्राप्त गर्नुभयो । मेलौली नगरपालिकाका ९ वडामध्ये ४ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्र र २ मा एमालेले जीत निकालेको छ ।

यस्तै सिगासको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी विजयी हुनुभएको छ । उहाँ एमालेका जसवीर बोहरालाई पराजित गर्दै विजयी हुनुभएको हो । गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका धाना धामी विजयी हुनुभएको छ । कांग्रेसकी सुमित्रा ऐरलाई पछि पार्दै उनी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

हरिसिंह धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसका धामीले तीन हजार ४३९ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका जस्वीर बोहराले एक हजार ७९८ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका धाना धामी विजयी हुनुभएको छ । कांग्रेसकी सुमित्रा ऐरलाई पछि पार्दै उहाँ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेकी धामीले दुई हजार ९३९ मत प्राप्त गर्नुभएको छ भने ऐरले दुई हजार ६९६ मत प्राप्त गर्नुभएको छ ।

हरिसिंह धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए । गएको स्थानीय तहको निर्वाचनमा सिगासमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको थियो भने यो चुनावमा अध्यक्ष पदमा मात्रै जीत हासिल गरेको थियो । यसअघि सार्वजनिक मतपरिणाममा शिवनाथ गाउँपालिकामा कांग्रेस र पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । दस स्थानीय तह रहेको बैतडीका अन्य पालिकामा मतगणना जारी रहेको छ ।

तपाईको प्रतिक्रिया