कालिका गापाको मत परिमाण घोषणा, कांग्रेसका देवकोटा निर्वाचित

  जेठ ०२, २०७९

रसुवा, जेठ २ : स्थानीय तह निर्वाचनअन्तर्गत कालिका गाउँपालिकाको मत परिमाण घोषणा भएको छ । प्राप्त परिमाणअनुसार नेपाली कांग्रेसका उम्मेदवार हरिकृष्ण देवकोटाले दुई हजार ६२२ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गर्नुभएको छ ।

अध्यक्ष पदका उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कमलनाथ आचार्यले दुई हजार २८२ मत प्राप्त गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार मिरा तामाङले दुई हजार ८१० मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अम्बिका भट्ट पौडेलले दुई हजार दुई मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उक्त गाउँपालिकाको पाँचवटा वडामध्ये १ नं वडाको वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दावा तामाङ, वडा नं २, ३, ४ र ५ वडामा भने कांग्रेसका उम्मेदवार क्रमशः उमेशबहादुर न्यौपाने, फणीन्द्रप्रसाद न्यौपाने, खेशम तामाङ र सन्दीप पौडेल विजय हुनुभएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो ।

वडा नं ३ को वडाध्यक्ष पदको मतगणनामा भने आफ्नो दललाई अमान्य भएको भन्दै माओवादी केन्द्रले आइतबार साझ विज्ञप्ति निकाल्दै पुनरावलोकन गराउन माओवादी नेता अगाडि बढि रहेका छ । उता कालिका गाउँपालिकामा स्थापित निर्वाचन अधिकृतको कार्यालयले भने निर्वाचन आयोगको मापदण्ड र नीतिनियमको अधीनमा रही प्राप्त मतको गणना भएको स्पष्ट पारेको छ ।

गोसाइँकुण्ड, आमाछोदिङ्मो, गाउँपालिकाको मत परिमाण गएराति नै घोषणा भइसकेको र उत्तरगया तथा नौकुण्ड गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया