उठेन मृतकको लास र मतपेटिका, कटारी १० को सोरुङ्गछविसे तनावग्रस्त

  जेठ ०१, २०७९

गाईघाट, जेठ १ : उदयपुरको कटारी नगरपालिका वडा नं १० स्थित जनता कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका एक युवकको शव अझै घटनास्थलमैै  छ । कटारी नगरपालिका वडा नं १० सोरुङ्गछविसेका १९ वर्षीय नवीन कटुवालको शव तीनदिनदेखि मतदान केन्द्रमै रहेको छ ।

स्थानीयले अगाडि सारेका विभिन्न मागहरु समाधान नभएसम्म शव उठाउन नदिएपछि घटनास्थलमा नै शव राखेर नाराजुलुस गरीरहेको स्थानीय वासिन्दा एवं नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार बलबहादुर खत्रीले बताउनुभयो । स्थानीयले गोली चलाउने प्रहरी हवल्दार र आदेश दिने इन्स्पेक्टर दुबैलाई जागिर बर्खास्त गर्नु पर्ने, मृतक र घाइतेलाई उचित क्षतिपुर्ति दिइनु पर्ने, घाइतेको उपचार खर्च व्यहोर्नुपर्ने, शहीद घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेर अवरोध गरिरहेको उहाँले बताउनुभयो ।

मतदान केन्द्रभित्र अनियन्त्रित भीड प्रवेश गरी आक्रमण गर्न खोजेपछि  मतपेटिका सुरक्षार्थ खटिएको प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको स्थानीयको भनाइ छ । अहिले चारैपटि ठूलो सङ्ख्यामा स्थानीयको भीडले मतदान केन्द्र घेरेर राखेको अवस्था रहेको स्थानीयको भनाइ छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मतदान सकिनै लाग्दा स्थानीयहरु उत्तेजित भई मतदान केन्दतर्फ भीड बडाउँदै लगेपछि  स्थितिलाई नियन्त्रण लिन केही राउण्ड हवाइ फाएर भएको र सोही कारण एक ब्यक्तिको मृत्यु हुनुका साथै अन्य एक बालक घाइते भएकोमा शनिवार कटारी नगरपालिकामा बसेको सर्वदलीय बैठकको निर्णय पीडित पक्षले नमानेपछि स्थिति अझै तनावग्रस्त रहेको  बताउनुभयो ।

शनिवार कटारीमा वसेको सर्वपक्षीय बैठकमा सो घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कानुनी कारवहकिा लागि सिफारिस गर्न एक उच्चस्तरीय छानविन आयोग गठन गर्ने,मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने ,मृतक वीरवहादुर कटुवाललाई शहीद घोषणा गर्न लेखि पठाउने,घाइतेको उपचार सरकारले गर्ने र निर्वाचनको बाँकी काम सम्बन्धित मतदान अधिकृतले निष्पक्ष रुपमा अगाडि बढाउने सहमति भएको प्रजिअ यावले बताउनुभयो ।

तर यो निर्णय पनि पीडित पक्षले नमानेर स्थितिलाई तनावपूर्ण बनाउँदै लगेपछि समस्या समाधानका लागि आइतवार प्रजिअ आफै घटनास्थलतर्फ जानुभएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयो । मृतक कटुवालको शवसँगै तीनदिनदेखि कटारी नगरपालिका वडा नं १० को मतपेटिका समेत त्यहाँबाट कटारी ल्याउन  सुरक्षाकर्मीले सकेको छैन ।

यता त्रियुगा नगरपालिकाको वडा नं १२ स्थित जनप्रेमि आधारभूत विद्यालयको मतदान केन्द्रमा शुक्रवार भएको मतदान पनि रध्द हुने वा नहुने भन्ने अन्यौल बढेको छ । उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनाल अचानक बिरामि पर्नुभएको र आयोगको केन्द्रीय कार्यालयबाट पनि यस विषयमा कुनै निर्णय नआउँदा ब्यापक अन्याेल छाएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग फोन म्यासेज मार्फत पटक पटक सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउनुभएन ।

गोली लागेर घरमा बसिरहेका स्थानीय किशोर मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए । सो घटनामा प्रहरीतर्फसमेत केही घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया