मतगणनास्थलमा मतपेटिका ल्याउन तीन दिनको पैदलमार्ग

  बैशाख ३१, २०७९

फुङ्लिङ, वैशाख ३१ : चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हँुदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्गहँुदै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटीका पु¥याउन लागिएको हो । भौगोलिक हिसाबले अतिदुर्गम बस्ती याङमा, ओलाङचुङगोला, घुन्सा र ग्याप्ला गरी चार मतदान केन्द्रको मतपेटीका हेलिकोप्टरमार्फत निर्वाचन अधिकृतको कार्यलयसम्म ल्याउन निर्वाचन आयोगले गत साता गृह मन्त्रालयबाट अनुमति लिएको थियो । तर, मौसम प्रतिकूल भएसँगै हेलिकोप्टर जान नसकेपछि तीन दिनलाग्ने पैदलमार्गमार्फत बोकेर ल्याउनुपरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी पिविन दुलालले बताउनुभयो ।

दुलालका अनुसार आज बिहानै मतपेटिका ल्याउने तयारी गरिएको थियो । उहाँले आइतबारसम्ममा निर्वाचन अधिकृतको कार्यालय तापेथोकसम्म मतपेटीका ल्याई पु¥याइने योजना बनाइएको छ । ओलाङचुङगोला, घुन्सा र ग्लाप्लाका मतदान केन्द्रका मतपेटीका भने आज १० बजे रातिसम्ममा निर्वाचन अधिकृतको कार्यालयसम्म आइपुग्ने जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा शेर्पा समुदायको ११ घरपरिवार बसोबास गर्दै आएका छन् । ६० जना मतदाता रहेको याङमा यस स्थानीय तह निर्वाचनमा १४ जनाले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । शुक्रबार दश पुरुष र चार महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

उक्त क्षेत्रमा मतदान गराउनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी नौ जनाको टोली याङमा पुगेको थियो । मतदान गर्नका लागि रु दुई लाखभन्दा बढीखर्च हुने निर्वाचन आयोगको कार्यालय ताप्लेजुङले जनाएको छ । “उक्त क्षेत्रमा निर्वाचनका लागि दुई लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ, नागरिकको मताधिकारका लागि खर्च गर्नु राज्यको दायित्वभित्र पर्दछ” खनालले भन्नुभयो ।

फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा वडाध्यक्षसहित पाँचैजना जनप्रतिनिधि भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । जसका कारण सो वडाको दुवै मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको छ ।

यस्तै २७६ जना मतदाता रहेको ओलाङ्चुङगोलामा ८५ मत खसेको छ । ४२ जना पुरुष र ४३ जना महिलाले मतदान गरेको जनाइएको छ । यस्तै १६६ मतदाता रहेको घुन्सामा ८१ मत खस्यो । जसमा ४४ पुरुष र ३७ महिला छन् । यता ग्याव्लामा भने ३२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा फक्ताङलुङ गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटीका सङ्कलन भइसकेको छ ।

यसैबीच मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, फुङ्लिङ नगरपालिकामा मतगणना सुरुभएको छ भने अन्य स्थानीय तहमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । “सर्वदलीय बैठकपछि ती पालिकामा मतगणनाकार्य सुरु गर्नेछौँ, फक्ताङलुङ गाउँपालिकाको भने आइतबारसम्ममा मतगणनास्थलमा आइपुग्ने अनुमान गरेका छौँ”, अधिकृत खनालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया