निर्वाचन सम्पन्न गर्न खटिने सबैलाई धन्यवाद: गृहमन्त्री खाण

  बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत र साधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकै पटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिनुभएको छ ।

गृहमन्त्री खाणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीशहरू, र निर्वाचन अधिकृतहरूलाई सीमित स्रोत र साधन उपयोग गरेर एकै चरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएकोमा धन्यवाद दिनुभएको हो ।

गृहमन्त्री खाँणले शनिबार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, प्रधान सेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरेर छिटपुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकै पटक सम्पन्न गरेकोमा धन्यवाद दिनुभएको हो ।

‘सीमित स्रोत र साधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानहरूले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेबारी पूरा गर्नु भएको छ,’ गृहमन्त्री खाँणले टेलिफोनमा भन्नुभयो, ‘मुख्य निर्वाचन अधिकृत भएर खटिनुभएका जिल्ला न्यायाधीशहरू र निर्वाचन अधिकृतहरूले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न गर्नुभएको छ । म्यादी प्रहरीले झन प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेबारी निभाउनु भएको छ । सबैले सरकारले दिएको जिम्मेबारी दृढतापूर्वक र प्रतिबद्ध भएर पूरा गर्नुभएका सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

एकै पटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतिपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाँणले बताउनुभयो । गृहसचिव पाण्डेले गृहमन्त्री खाँणले सरकारको निर्णय बमोजिम सीमित स्रोत साधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकै पटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न सीमित स्रोत साधनबीच सुरक्षा व्यवस्था मिलाएकोमा धन्यवाद दिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया