काठमाडौँ, वैशाख ३० : राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ ।
स्थानीय तह निर्वाचनका बाबजुद पाँच दिने प्राण प्रतिष्ठा समारोहमा हजारौँ भक्तजनको भीड लागेको थियो । हालै निर्माण सम्पन्न भएको मन्दिर वैशाख २६ गतेदेखि पाँच दिने प्राण प्रतिष्ठा अनुष्ठान सुरु गरिएकामा आज सम्पन्न भएको हो । स्थानीय तह निर्वाचनको सरगर्मीका बीच भक्तजन मन्दिर क्षेत्रको कार्यक्रममा उपस्थित भए ।
अनुष्ठानका पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि आजैदेखि मन्दिर खुला गरिएको छ । अनुष्ठानमा विभिन्न धार्मिक सन्त, महन्तले प्रवचनसमेत गर्नुभएको छ । समारोहमा प्राडा ऋषिराम पोखरेल, सहप्राध्यापक श्रीराम सापकोटा, वेणुगोपाल मन्दिर मैतीदेवीका मठाधीश यतीन्द्राचार्य, धापासीबाट नारायण आचार्य, काभ्रेपलाञ्चोक जिल्लाको खोपासीस्थित गोदा रङ्गनाथ मन्दिरका मठाधीश स्वामी कमलनयनाचार्य र वेङ्कटेश मन्दिर बत्तीसपुतलीका मठाधीश पद्मधराचार्यले प्रवचन गर्नुभएको छ ।
प्रवचनका क्रममा उहाँहरुले नेपालको अन्य स्थानमा नबनेको लक्ष्मी ह्यग्रीवको ऐतिहासिक मन्दिर निर्माण हुनु महत्वको विषय भएको बताउनुभयो । सबैको अन्तिम आश्रय भगवान् नै भएकाले मन्दिर क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको भीड बढ्ने उहाँहरुको भनाइ थियो । यस्ता धार्मिकस्थलले संस्कार र संस्कृतिका कुरा जगेर्ना गर्नेमा पनि प्रवचनकर्ताले जोड दिनुभएको थियो ।
प्राण प्रतिष्ठा अनुष्ठान शुभारम्भका दिन वैशाख २६ गते पूर्वाङ्गसहित मृदाहरण र ध्वजारोहण गरी सुरु भएको कार्यक्रममा दोस्रो दिन वैशाख २७ गते अग्निस्थापना विधिसहित मूर्तिलाई जलाधिवास गराइएको थियो । तेस्रो दिन बुधबार यज्ञसहित धान्याधिवास गराइएको रुरुक्षेत्र पीठाधीश स्वामी श्रीजगदीश प्रपन्नाचार्यले राससलाई जानकारी दिनुभयो ।
चौथो दिन बिहीबार यज्ञसहित शथ्याधिवास गराइएको छ । अनुष्ठानको पाँचौँ एवं अन्तिम दिन आज नेत्रोन्मिलनको कार्यक्रम सम्पन्न गरिएको छ । कुम्भ आरतीको कार्यक्रम भने बेलुकी गरिने उहाँले सुनाउनुभयो । यस दिन मन्दिरमा दर्शन गर्दा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ । आजको दिन भगवान्लाई अर्पण गरेअनुसार भक्तजनले पनि फल पाउने छन् ।
लक्ष्मी ह्यग्रीवको नेत्रोन्मीलनका क्रममा बाच्छासहितको गाई अघि राखिएको थियो । गाईको साथमा ब्राह्मण कन्या, ऐना, दुबो, पूर्ण कलश, यथाशक्ति मणिमाणिक्यलगायत धेरै चिजबीज राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद सिम्खडाले जानकारी दिनुभयो । हवन, पूर्णाहुति, अभिषेक, फूलप्रसाद ग्रहण कार्यक्रमपछि उपस्थित सबै भक्तजनलाई प्रसादका रूपमा भोजन गराइएको थियो ।
सो अवसरमा उपस्थित भक्तजनले मन्दिर सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न चन्दादान गरेका थिए । समारोहमा भक्तजन उत्साहका साथ सहभागी भएका थिए । आज बेलुकीदेखि मन्दिरमा नित्य आरती कार्यक्रम गरिने छ । लक्ष्मी ह्यग्रीवको आरतीमा दिव्य तेजको दर्शन पाइने विश्वास गरिन्छ । यस बेला सबै देवीदेवता सूक्ष्मरूपमा दर्शनमा आउनुहुने मान्यता पनि छ । यस्तो आरतीमा नजिकका मानिस आउनैपर्ने पनि बताइन्छ ।
आरती एवं भक्तजनले दर्शन गर्ने प्रयोजनका लागि बेलुकी तीन बजेदेखि मन्दिर खोलिन्छ । गर्मीमा बेलुकी सात बजे र जाडोमा बेलुकी छ बजे आरती गर्ने समय निर्धारण गरिएको छ । नित्य पूजा आराधनाका लागि बिहान ०५ः३० देखि ११ बजेसम्म मन्दिर खुला गरिन्छ । बिहान ११ बजेदेखि ३ः०० बजेसम्म भने मन्दिर बन्द गरिने जनाइएको छ ।
मन्दिरमा वैदिक पद्धतिको पाञ्चार आगम विधिअनुसार पूजा आराधना र आरती गरिन्छ । यो विधि भगवान् नारायणले नारदलाई सुनाउनुभएको हो ।