मकैले पायो राम्रो मूल्य

  बैशाख ३०, २०७९

सर्लाही, वैशाख ३० : यो वर्ष मकैले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुसी भएका छन् । यहाँका किसानलाई अहिले उन्नत जात (हाइब्रिड) मकै भित्र्याउने चटारो छ । धेरैजसो किसानले मकै बेचिसकेका छन् ।

केही किसानले भने अब चुनावपछि मकै थन्काउने तयारी गरेका छन् । लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान चन्द्रबहादुर कार्कीले अघिल्लो वर्ष मकैको मूल्य नपाएर निराश हुनुपरेको भए पनि यो वर्ष अहिलेसम्म राम्रै मूल्य पाइरहेको बताउनुभयो ।

कार्कीका अनुसार मकै अहिले प्रतिक्विन्टल तीन हजार दुई सय रुपियाँमा बिक्री भइरहेको छ । सुरुसुरुमा केही किसानले मकै प्रतिक्विन्टल तीन हजार आठ सय रुपियाँसम्ममा पनि बिक्री गरेका कार्कीले बताउनुभयो । आफूले यो वर्ष दुई लाख रुपियाँभन्दा बढीको मकै बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । सर्लाहीका किसानले गत वर्ष मकै प्रतिक्विन्टल दुई हजार रुपियाँसम्ममा बिक्री गर्न बाध्य भएका थिए ।

बरहथवा नगरपालिका–२, हजरियाका किसान महेश बरालले पोहोर साल मकैको मूल्य नपाएर चिन्तित भएका किसानलाई यो वर्ष राम्रो मूल्य पाउँदा राहत मिलेको बताउनुभएको छ । किसानको मकै किन्न व्यापारी घरघरमै पुग्ने गरेका छन् । सर्लाहीमा जियाजोर, परवानीपुर, हजरिया, राजघाट, शङ्करपुर, हजारबिघा, मूर्तियालगायतका क्षेत्रमा उन्नत जातको मकै खेती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया