पहिलो लक्ष्मी ह्यग्रीव मन्दिरको प्राण–प्रतिष्ठामा भक्तजनको भीड

  बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्येको एक लक्ष्मी ह्यग्रीवको नेपालमै पहिलो मन्दिरको प्राण–प्रतिष्ठा समारोहमा हजारौँ भक्तजनको भीड लागेको छ ।

हालै निर्माण सम्पन्न भएको मन्दिर वैशाख २६ गतेदेखि पाँच दिने प्राण–प्रतिष्ठा अनुष्ठान सुरु भएको छ । स्थानीय तह निर्वाचनको सरगर्मीकाबीच भक्तजन मन्दिर क्षेत्रको कार्यक्रममा उपस्थित भएका हुन् । अनुष्ठानको तेस्रो दिन बुधबारसम्म हजारौँ भक्तजनले मन्दिर क्षेत्रमा दर्शन गरेका छन् ।

वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान आयोजना गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । अनुष्ठानमा विभिन्न धार्मिक सन्त, महन्तद्वारा प्रवचनसमेत चलिरहेको छ । हालसम्म वेणुगोपाल मन्दिर मैतीदेवीका मठाधीश यतीन्द्राचार्य, धापासीबाट नारायण आचार्य, काभ्रेपलाञ्चोक जिल्लाको खोपासीस्थित गोदा रङ्गनाथ मन्दिरका मठाधीश स्वामी कमलनयनाचार्य र वेङ्कटेश मन्दिर बत्तीसपुतलीका मठाधीश पद्मधराचार्यले प्रवचन गरिसक्नुभएको छ ।

प्रवचनका क्रममा उहाँहरुले हालसम्म नेपालको अन्य स्थानमा नबनेको लक्ष्मी ह्यग्रीवको ऐतिहासिक मन्दिर निर्माण हुनु महत्वको विषय भएको बताउनुभयो । सबैको अन्तिम आश्रय भगवान् नै भएकाले मन्दिर क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको भीड बढ्ने उहाँहरुको भनाइ थियो ।

तपाईको प्रतिक्रिया