मौन अवधिमा पालना गर्नुपर्ने आचरण

  बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : स्थानीय तह निर्वाचनका सन्दर्भमा मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा राजनीतिक क्रियाकलाप सम्पूर्ण बन्देज गरिएको छ । यसका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । सो आचारसंहितामा मौन अवधिमा गर्न पाइने र नपाइने विषयका बारेमा स्पष्ट गरिएको छ ।

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नुपर्नेछ–

(क) मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने,

(ख) मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने,

(ग) कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने,

(घ) सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने ।

मतदानको दिन पालना गर्नुपर्ने आचरण

मतदानको दिन राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नुपर्नेछ–

(क) मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन नहुने,

(ख) मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने,

(ग) कुनै किसिमको सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने तर सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताका लागि निर्वाचन अधिकृतले अनुमति दिएको खण्डमा सवारीसाधन प्रयोग गर्न बाधा पर्ने छैन ।

(घ) मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने ।

मतदाता र मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण

मतदाताले देहायका आचरण पालन गर्नुपर्नेछ–

(क) मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने,

(ख) मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने,

(ग) मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने,

(घ) मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै सङ्केत अङ्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला

बोक्न नहुने,

(ङ) मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित ट्याटु प्रदर्शन गर्न नहुने,

(च) कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्विटर, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने ।

मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण

राजनीतिक दल तथा उम्मेदवारको मतदान तथा मतगणना प्रतिनिधिले देहायका आचरण पालना गर्नुपर्नेछ–

(क) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै सङ्केत अङ्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने,

(ख) राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक, लोगो, ब्याचजस्ता सामग्री लगाउन, बोक्न र देखाउन नहुने,

(ग) मतपत्रलगायतका निर्वाचन सामग्री छुन वा चलाउन वा बिगार्न वा फोटो खिच्न नहुने,

(घ) मतदानस्थल वा मतगणना स्थलमा दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नाराबाजी वा हुल हुज्जत गर्न नहुने,

(ङ) क्यामरा, मोबाइललगायतका निर्वाचन अधिकृतले अनुमति नदिएका सामग्री मतगणना स्थलमा लैजान नहुने ।

(स्रोत : निर्वाचन आयोग)

तपाईको प्रतिक्रिया