गोला प्रक्रिया पारदर्शी छ :कामु प्रन्या कार्की

  बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताउनुभएको छ । कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएनले आज आयोजना गरेको कार्यक्रममा उहाँले मुद्दाको पेसी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताउनुभएको हो ।

“न्यायपालिकामा धेरै समस्या छ, त्यसमा पनि जिल्ला र उच्चमा भन्दा सर्वोच्च अदालतमा बढी समस्या छ”, कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “गोला प्रक्रियाबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुरु गरेपछि पारदर्शीता भएको छ ।” उहाँले न्यायपालिकाप्रति जनताको आशा भरोसा दिलाउनका लागि सबैले साथ दिनुपर्ने बताउनुभयो ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले समयसापेक्ष संशोधन गर्नुपर्ने ऐन कानूनहरु संशोधन गरेर सेवाग्राहीलाई छिटो न्याय दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने र न्यायकर्मीले बानी, व्यवहार र आचरण सुधार गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयमा विकृति, विसङ्गति रहेको हुँदा त्यसको अन्त्यका लागि विधिको शासन कायम गर्न सबैले कसम खानुपर्नेमा जोड दिनुभयो । एकै खाले मुद्दाहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्नुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया