महेन्द्रनगर, वैशाख २६ : भीमदत्त नगरपालिकाको उप मेयरका लागि चार दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा देखिएका छन् । एमाले, काँग्रेस, माओवादी समाजवादी गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टी उप मेयरका लागि मतदातासित भोट माग्न व्यस्त भएका छन् ।
भीमदत्तमा अघिल्लो निर्वाचनमा मेयर उप मेयर जितेका दुबै जना चुनावी प्रतिस्पर्धा बाहिर छन् । पाँच वर्ष अघि भीमदत्तमा एमालेका सुरेन्द्र विष्ट मेयर र काँग्रेसकी सुशिला चन्द सिह उप मेयरमा निर्वाचित भएकी थिइन् । उनीहरु दुबै जना यस निर्वाचनको प्रतिस्पर्धा सहभागी नभएर आ–आफ्नै दलका उम्मेदवार जिताउन सक्रिय भएका छन् ।
मेयर विष्ट अहिले एमाले कञ्चनपुरका अध्यक्ष छन् । चन्दले काँग्रेसबाट मेयरका लागि आकाँक्षा राखे पनि उनीसंगै अघिल्लो निर्वाचनमा मेयर लडेका काँग्रेस सभापति पदम बोगटी मेयरका लागि चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।
उप मेयर चन्द सिह पराजित माया पन्त पनि यस पटक प्रतिस्पर्धाबाट बाहिर छन् । एमाले छाडेपछि उनी अहिले समाजवादी माओवादी चुनावी गठबन्धन जिताउन लागेकी छन् । समाजवादी माओवादी गठबन्धनबाट मेयरमा राजेन्द्र पाण्डेय र उप मेयरमा कृष्णदत्त जोशी बोक्सर चुनावी मैदानमा छन् ।
एमालेबाट भुवन कुँबर, काँग्रेस निलम लेखक जोशी र राप्रपाबाट हेलेन श्रेष्ट उप मेयरका दौडमा छन् । भीमदत्तमा उनीहरु सहित सबै १४ जना उम्मेदवारका लागि चुनावी प्रचारमा छन् ।
एमाले उम्मेदवार कुँबर भीमदत्तका पूर्व मेयर स्वर्गिय सूर्य बहादुर कुँबरकी बुहारी हुन् । भीमदत्त नगरपालिका ३ की कुँबर राजनीतिसंगै साामाजिक क्षेत्रमा सक्रिय छन् ।
समाज शास्त्रमा स्नातकोत्तर कुँबरले भीमदत्त नगरपालिकामा सुशासनलाई प्राथमिकता दिने बताएकी छिन् । उनले भीमदत्तमा सुशासन सम्बन्धी युएसआइडीको परियोजनामा सुशासन विज्ञ भएर काम गरि सकेकी छन् ।
राजनीतिसंगै उनले धेरै सामाजिक संघ संस्थाको नेतृत्व गरि सकेकी छन् । उनले नारी उत्थान केन्द्र, कोक्याप, सेलर्ड र सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संस्थामा आवद्ध भएकी छन् ।
एमाले नेता रविन्द्र कुँबरसित विवाह बन्धनमा बाँधिएपछि घर परिवारको राजनीतिक माहौलबाट उत्प्रेरित भएर राजनीतिमा आएका हुन् । २०५६ मा कुँबरसित विवाह हुँदा नै उनका ससुरा सूर्य बहादुर कुँबर भीमदत्तका मेयर थिए । उनको २०५९ मा निधन भएको थियो ।
भीमदत्तमा काँग्रेसका उम्मेदवार लेखक जनआन्दोलनका बेला चर्चामा आएकी थिइन् । प्रहरीको लाठी प्रहारले गर्भ पतन भएपछि लेखक एकाएक चर्चामा आएकी थिइन् । नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएकी उनी काँग्रेसको मजदुर राजनीतिमा पनि सक्रिय छन् । उनले विद्यार्थी संघ, महिला संघ, ट्रेड युनियन काँग्रेसका जिम्मेवारी सम्हालेकी छन् ।
लेखकको उम्मेदावारी दिएपछि उनी काँग्रेसको भीमदत्त नगर सचिव नितु भट्टले बागी दिएकी थिइन् । उनीमाथि काँग्रेस नेता रमेश लेखकका बहिनी भएका कारण टिकट दिइएको आरोप लागेको थियो । उप मेयरका उम्मेदवार लेखकले लेखककै बहिनी भएका कारण टिकट पाउने भए २०७४ मा किन नपाएको भन्दै जवाफ दिएकी थिइन् ।
भीमदत्तको उप मेयरका माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी बोक्सर पनि अघि बढेका छन् । उनी माओवादी समाजवादी गठबन्धनबाट उप मेयरका लागि चुनावी मैदानमा छन् ।
माओवादी समाजवादी गठबन्धनका उम्मेदवार जोशीले महाकाली प्रादेशिक अस्पताल सुधार गरी चर्चा कमाएका छन् । माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. ३ का संयोजक जोशी काँग्रेस एमालेका लागि भारी देखिएका छन् ।
अस्पतालमा जनशक्ति व्यवस्थापन, पूर्वाधार निर्माण, सेवा प्रवाह सहज र कोरोना महामारी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उनी परिचित छन् । शिक्षण पेशा छाडेर माओवादी भएका उनी यस पटक उप मेयर हुने दौडमा छन् ।
भीमदत्त नगरपालिका ५ का जोशी समान्य, सरल र सबैसित घुलमिल गर्ने स्वभाव भएका नेताका रुपमा चिनिन्छन् । चुनाव प्रचारमा समेत उनी मोटरसाइकलमा मत माग्दै हिँडेका छन् ।
२०४७ देखि शिक्षण पेशामा लागेर तीन वर्षपछि प्रावि स्थायी भएका उनी संकटकालमा भूमिगत भएर माओवादी आन्दोलनमा लागेका हुन् । माओवादी सम्बद्ध शिक्षक संगठनको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष र सेती महाकाली इन्चार्ज भएका उनी २०६३ मा शिक्षकहरुको छाता संगठन गणतान्त्रिक मञ्चका अध्यक्ष भएका थिए ।
माओवादीको जिल्ला कमिटी सदस्य भएर उनी २०६३ मौ बेलौरी इन्चार्ज भएका थिए । राजनीतिसंगै सामाजिक सेवामा सक्रिय उनी तीन वर्ष महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । राष्ट्रिय शिक्षा पुरस्कार पाएका उनी रेडक्रससित आवद्ध छन् ।
भीमदत्तको मेयरका आकाँक्षी जोशी समाजवादी माओवादी गठबन्धनपछि उप मेयरमा उम्मेदवार भएका हुन् । गठबन्धन नभए उनी भीमदत्तमा माओवादी केन्द्रबाट मेयरका दाबेदार थिए । माओवादी केन्द्रले मेयरका लागि उनको नाम सिफारिश गरेको थियो ।
भीमदत्तको उप मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेलेन श्रेष्ठ चुनावी मैदानमा छन् । उनी अघिल्लो पटक पनि उप मेयरको आकाँक्षी थिइन् । मतदाता नामावली नभएपछि उनी पछि हटेकी थिइन् । श्रेष्ठले निर्मला पन्त हत्यामा संलग्नलाई कारवाहीको माग गर्र्दै गरिएका आन्दोलनको नेतृत्व गरेकी थिइन् ।
भीमदत्तमा बहुदल आएपछि भएका स्थानीय निकाय निर्वाचनमा पुरुष उप मेयर भएका छन् । २०४९ को पहिलो निर्वाचनमा काँग्रेसका यज्ञराज चटौत उप मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ मा एमाले ईश्वरी प्रसाद खरेल निर्वाचित भएका थिए । ती दुबै निर्वाचनमा मेयर पनि पुरुष नै निर्वाचित भएका थिए ।
नयाँ संविधान जारी भएपछि भएको पहिलो निर्वाचनमा भने महिला पहिलो पटक उप मेयर भएकी थिइन् । २०७४ को निर्वाचनमा उप मेयरमा सबै दलका महिला उम्मेदवार चुनाव लडेका थिए ।
स्थानीय तहको प्रमुख वा उप प्रमुखमध्ये एक जना महिला हुन पर्ने कानुनी व्यवस्थाका कारण महिला उप प्रमुख भएकी हुन् । यस पटक पनि दलहरुले सोही कानुन अनुसार उम्मेदवार बनाएका छन् । माओवादी समाजवादीबीच गठबन्धन भए पछि भने दुबैले प्रमुख उप प्रमुखमा पुरुष उम्मेदवार बनाएका विकल्प दैनिकले जनाएको छ ।






