यस वर्षको सगरमाथा पहिलो आरोहण सफल

  बैशाख २४, २०७९

काठमाडौं, वैशाख २४ : यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ कीर्तिमानी आरोही कामीरिता शेर्पा सहित ११ जना आरोहीले गर्नुभएको छ । आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका निर्देशक छाङदावा शेर्पाका अनुसार भर्खरै बाटो बनाउने टोलीले सगरमाथाको चुचुरो चुमेको जानकारी दिनुभयो ।

आरोहण गर्नेहरुमा विश्वकै सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पा, संखुवासभाका सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जी शेर्पा, तारेमान तामाङ, सोलुखुम्बुका ङिमा टासि शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा छेतर शेर्पा, दोलखाका मिङमा डण्डु शेर्पा रहेको कम्पनीले जनाएको छ ।

बाटो निर्माण सम्पन्न भएसँगै आधारशिविरमा तयारी अवस्थामा रहेका आरोहीहरु आइतबारदेखिनै मौसमको अवस्था हेरेर आरोहणका लागि बाटो लाग्ने तयारीमा जुटेको कम्पनीहरुले जनाएको छ । यस वर्षको सगरमाथा आरोहणको बाटो बनाउने जिम्मा  सेभेन समिट ट्रेकले लिएको थियो । मौसमले साथ लिएका कारण यस वर्ष अन्य वर्षभन्दा अघिनै बाटो निर्माण सम्पन्न भएको निर्देशक छाङदावा शेर्पाले बताउनुभयो ।

यस वर्ष सगरमाथा आरोहणका लागि ३१६ जना आरोहीले अनुमती लिएका छन् भने नेपालका अग्ला २६ वटा हिमाल आरोहण गर्न ११३ आरोहणदलबाट ७४ देशका ९१८ जना आरोहीले विभागबाट अनुमति लिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया