‘खुसीको खुराक’ सार्वजनिक

  बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ ।

‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, कहिले मन पर्‍ययो, आँधीबेहरीले उडायो, केश कोर्‍ययाजस्ता विभिन्न छवटा गीतहरू समावेश गरिएको छ । यसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर छ ।

गीतलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दीक्षित पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गर्नुभएको हो । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

गीति लेखनमा चार दशक पार गरिसक्नुभएका गीतकार वीरेन्द्र पाठकले आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसक्नुभएको उहाँको एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । सङ्गीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११औँ एकल एल्बम हो ।

उहाँका सयौँ गीत बजारमा चर्चामा छन् । साङ्गीतिक यात्रामा तीन दशक पार गरिसक्नुभएका सङ्गीतकार मास्केको ‘मैले खोजेको साइली तिमीलाई’ पचासको दशकमा चर्चामा रहेको गीत हो ।

तपाईको प्रतिक्रिया